इटहरीमा घर निर्माण अनुमति लिनेको सङ्ख्या बढ्दो, सम्पन्नको प्रमाणपत्र लिनेको सङ्ख्या भने घट्दो

आइतबार, ११ जेठ २०८२

इटहरी : कोशी प्रदेशको प्रमुख सहर इटहरी उपमहानगरपालिकामा पछिल्ला दिनमा घर निर्माणको लागि अनुमति लिनेको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। तर, त्यसको तुलनामा निर्माण सम्पन्नको प्रमाणपत्र लिनेको सङ्ख्या भने घट्दो देखिएको छ।

आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को पहिलो १० महिनाको तथ्याङ्क तुलना गर्दा यस वर्ष १६१ जना बढीले घर निर्माणको लागि अनुमति लिएका छन्।

उपमहानगरपालिकाको भवन अनुमति तथा मापदण्ड कार्यान्वयन शाखाका अनुसार, २०८०र८१ मा १,८६७ जनाले निर्माण अनुमति लिएका थिए भने २०८१/८२ मा यो सङ्ख्या २,०२८ पुगेको छ।

यस वृद्धिको मुख्य कारण उपमहानगरपालिकाले प्रदान गर्दै आएको सुविधा हो। शाखा प्रमुख इन्जिनियर कैलाशकुमार तिम्सिनाका अनुसार, नगरपालिकाले १,००० एक हजार स्क्वायर फिटसम्मको घर नक्सा निःशुल्क बनाइदिने, निर्माण सल्लाह दिने र प्रक्रिया सहज बनाउने जस्ता सेवा दिँदै आएको छ।

तिम्सिनाका अनुसार, २०८१ सालको मङ्सिरदेखि वैशाखसम्म नक्सा पास गराउनेको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। माघ महिनामा मात्रै २९६ जनाले घर नक्सा पास गराएका थिए। यो वर्षको पहिलो १० महिनामा नक्सा पासमार्फत उपमहानगरले ३ करोड ३६ लाख ६३ हजार ९७३ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

गत आर्थिक वर्षभरिमा इटहरी उपमहानगरले नक्सा पासबाट ४ करोड ७८ लाख १४ हजार ५०२ रुपैयाँ राजस्व उठाएको थियो। यद्यपि, अनुमति लिनेहरूको सङ्ख्या बढिरहे पनि निर्माण सम्पन्न गरी प्रमाणपत्र लिनेको सङ्ख्या भने तुलनात्मक रूपमा कम रहेको छ।

शाखा प्रमुख तिम्सिनाका अनुसार, आर्थिक मन्दी, निर्माण सामग्रीको महँगी, र दक्ष मजदुरको अभावले गर्दा धेरैले अनुमति लिएर पनि समयमै घर निर्माण सम्पन्न गर्न सकेका छैनन्।

उपलब्ध तथ्यांकअनुसार, गत वर्ष २,३२९ जनाले घर निर्माण अनुमति लिए पनि ७२४ जनाले मात्र सम्पन्नताको प्रमाणपत्र लिएका थिए। यस वर्ष पनि २,०२८ जनाले इजाजत लिएकोमा हालसम्म ५८६ जनाले मात्र प्रमाणपत्र लिएका छन्।

शाखाका प्रशासन प्रमुख रेवती पोख्रेलका अनुसार, घर नक्सा शाखा अनलाइन प्रणालीमार्फत सञ्चालनमा आएपछि सेवाग्राहीले सजिलै सेवा लिन थालेका छन्।

उनले निर्माण सम्पन्नको प्रमाणपत्र लिने समयावधि दुई वर्षको रहेकोले धेरैले ढिला गरेर प्रमाणपत्र लिने गरेको बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार