काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो छैटौँ कृति ‘माथिको आदेश छ : हिरासतमा कविता’ सार्वजनिक गरेका छन्।
शनिवार राजधानीमा आयोजित विशेष समारोहमा उनले कृतिको लोकार्पण गर्दै देशको राजनीतिक, नैतिक र सामाजिक अवस्थामाथि कठोर टिप्पणी गरे।
समारोहमा बोल्दै मिश्रले नेपाली राजनीतिप्रति जनताको विश्वास हराउँदै गएको उल्लेख गर्दै आफूहरूकै पुस्ता ‘नेपालको इतिहासकै सबैभन्दा पापी पुस्ता’ भएको अभिव्यक्ति दिए।
उनले भने, ‘राजनीतिकर्मीले भनेको कुरा अहिले अत्यन्त अविश्वासिलो भइसकेको छ। तर हामीले जेन–जी पुस्ताका लागि देश बनाउन योगदान गर्न सक्यौँ भने अन्तिम सास आनन्दले फेर्न सकिनेछ। नत्र मैले आफ्नै पुस्तालाई सबैभन्दा पापी पुस्ता भन्ने गरेको छु।’
मिश्रले विगतका पुस्ता अशिक्षित र विपन्न भए पनि नैतिक रूपमा शुद्ध रहेको उल्लेख गर्दै अहिलेको पुस्ता भ्रष्टाचार र स्वार्थले ग्रस्त भएको बताए।
उनका शब्दमा,‘हाम्रा बाउबाजेहरू अशिक्षित थिए होला, रुढीवादी थिए होला, विपन्न थिए होलान्, तर पतित थिएनन्। तर हाम्रो पुस्ता यस्तो पुस्ता हो, जसलाई हाम्रा बाजेहरूको धर्म र नैतिकताको अवधारणाले अलिकति पनि बाँध्न सकेन।
देशका कानुनले पनि रोक्न सकेन। हामी यस्तो पुस्ताका सदस्य हौँ, जसले मन्दिर बनाउँदा पनि भ्रष्टाचार गर्छौँ।’ मिश्रका अनुसार उनका कृतिमा समेटिएका कविता र अनुभवहरू आफ्नै ५० दिनको हिरासत जीवनसँग सम्बन्धित छन्।
‘हामी परिबन्धमा परेर हिरासतमा पुग्यौँ। हाम्रो कुनै गल्ती थिएन, देशको कानून उल्लङ्घन हुने कुनै काम गरेका थिएनौँ। तर पनि हिरासतमा पुग्यौँ। म ५० दिन जेल बस्दाको अनुभव, जे भोगेँ, त्यही लेखेको छु,’ उनले भने।
हिरासतमा रहँदा राज्यका संवैधानिक निकायहरू राजनीतिक प्रभावमा रहेको अनुभूति भएको उल्लेख गर्दै उनले थपे, ‘प्रहरी, महान्यायाधिवक्ताको कार्यालय र अदालत — यी तीनै निकाय राजनीतिबाट नराम्ररी प्रभावित छन् र राजनीतिको छायाँमा छन्।’
प्रतिक्रिया