काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब मुलुकमा लोडसेडिङ नहुने स्पष्ट पार्दै बजारमा फैलिएको हल्लाको पछि नलाग्न नागरिकलाई आग्रह गरेका छन्।
कालीमाटीस्थित ‘नो लाइट’ शाखाको स्थलगत निरीक्षण गर्दै मन्त्री खड्काले हाल उत्पादन भइरहेको विद्युत् मुलुकको माग पूर्ति गर्न पर्याप्त रहेको बताउँदै विद्युत् आपूर्तिमा कुनै दीर्घकालीन समस्या नरहेको उल्लेख गरे।
नो लाइट शाखाअन्तर्गत देखिएका विद्युत् आपूर्तिसम्बन्धी समस्या, उपभोक्ताको गुनासो तथा प्राविधिक कठिनाइको जानकारी लिँदै मन्त्री खड्काले नियोजित रूपमा केही समूहले लोडसेडिङको हल्ला फैलाएको दाबी गरे।
असामान्य मौसम, हावाहुरी वा चट्याङका कारण केही क्षण समस्या देखिए पनि ती समस्याहरू छिट्टै समाधान हुने जानकारी उनले दिए।
मन्त्री खड्काले आजै स्युचाटारस्थित ‘लोड डिस्प्याच सेन्टर’को आकस्मिक निरीक्षणसमेत गरे। उनले केन्द्रमार्फत विद्युत् प्रवाहको अवस्था नियाल्दै कर्मचारी व्यवस्थापन र प्राविधिक संयन्त्रबारे जानकारी लिएका थिए। निरीक्षणपछि उनले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूलाई उपभोक्ताप्रति उत्तरदायी भएर कार्य गर्न निर्देशन दिए।
सरकारले प्रणाली सुदृढीकरण, विद्युत् आपूर्तिको निरन्तरता र गुनासो व्यवस्थापनमा कडाइ गर्ने नीति अपनाएको मन्त्री खड्काले बताए। निरीक्षणमा ऊर्जा सचिव सुरेश आचार्य, प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित प्राविधिक टोली सहभागी थियो।
प्रतिक्रिया