काठमाडौं : कोसी प्रदेशको पर्यटन प्रवर्द्धनलाई लक्षित गरी आयोजना गरिएको 'कोसी प्रोजेक्ट शो केस' को उपाधि एक्मी इन्जिनियरिङ कलेजको एक्मी कोस्टर टिमले जितेको छ। आइतबार काठमाडौंमा सम्पन्न फाइनल चरणमा नौ प्रतिस्पर्धी टिमलाई पछि पार्दै एक्मीले यो उपाधि हात पार्न सफल भएको हो।
एलिसन हस्पिटालिटीले आयोजना गरेको प्रतियोगितामा पुल्चोक इन्जिनियरिङ कलेजको फुल्चोक इयर फाइभ फस्ट रनरअप र नेपाल इन्जिनियरिङ कलेजको एग्रो बस्ती सेकेन्ड रनरअप घोषित भए। उपाधि विजेताले नगद एक लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्। फस्ट रनरअपलाई ५० हजार रुपैयाँ र सेकेन्ड रनरअपलाई २५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र अन्य उपहारहरू प्रदान गरिएको छ।
फाइनल चरणमा उत्कृष्ट १० टिमहरूले आफ्ना परियोजनाहरू कोसी प्रदेशका लगानीकर्ता तथा सरोकारवालाहरूका लागि पुनः प्रदर्शनी गर्नेछन्। निर्णायक मण्डलमा इन्जिनियर मन्दाकिनी कार्की, बैंकर नवराज सत्याल, आर्किटेक्ट पुनम शाह, युवा व्यवसायी शिशिर सिंखडा र पर्यटन व्यवसायी चन्द्र रिजाल रहेका थिए।
नेपालमै पहिलो पटक आयोजना गरिएको यस्तो खालको प्रतियोगिताले इन्जिनियरिङ र पर्यटनबीचको सहकार्यको नयाँ ढोका खोलेको आयोजकहरूको भनाइ छ। अध्यक्ष एलिना मगरका अनुसार, यदि सरकार वा लगानीकर्ताहरू इच्छुक भएमा प्रतियोगी प्रोजेक्टहरू कार्यान्वयनका लागि आवश्यक सहजीकरण गरिनेछ।
तीन दिनसम्म चलेको प्रतियोगितामा प्रारम्भिक चरणमा २१ टिम सहभागी थिए। फाइनल चरणमा डाँडाबजार, राजारानी, रौता पोखरी, सोलु, सङ्खुवासभा, पानीटार इलाम, सूर्योदय अन्तु इलाम, माई पोखरी, ओखलढुंगा लिखु, मुन्धुम सर्किट लगायतका क्षेत्रका प्रोजेक्टहरू प्रस्तुत गरिएका थिए।
प्रतियोगितामा उत्कृष्ट १० टिममा ख्वप इन्जिनियरिङ कलेजको बियोन्ड द ब्रिज, पुल्चोक क्याम्पसका कोशी एक्स्प्लोरर, पाथ फाइन्डर, केटुपिए, विनर, स्केच स्क्वायर्ड, र नेपाल इन्जिनियरिङ कलेजका रुलर रिज बिल्डर्स पनि समावेश भएका छन्।
कोसी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकमलगायतको सहकार्यमा सम्पन्न कार्यक्रमको व्यवस्थापन काफल इभेन्टले गरेको थियो।
प्रतिक्रिया