काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदमा गृहमन्त्रीलाई बोल्न नदिने प्रतिपक्षी दलहरूको गतिविधि अस्वीकार्य भएको बताएका छन्। संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले प्रश्न उठिसकेपछि गृहमन्त्रीले जवाफ दिने प्रक्रिया संसदीय परम्पराअनुसार स्वाभाविक रहेको बताए।
उनले भने, "गृहमन्त्रीले संसदमा समग्र घटनाबारे जवाफ दिने घोषणा गरिसकेपछि पनि रोष्ट्रममा जान दिइएन। यस्तो अवरोध प्रमुख प्रतिपक्षी दलहरूबाट हुनु दुःखद् र अस्वीकार्य हो।" बर्तौलाका अनुसार सरकारको धारणा संसदमा राख्न दिइनु नै लोकतान्त्रिक अभ्यास हो, त्यसपछि प्रतिपक्षले असन्तुष्टि जनाउनु वा आलोचना गर्नु स्वाभाविक प्रक्रियाभित्र पर्छ।
बर्तौलाले प्रतिपक्षीको असंसदीय व्यवहार संसदलाई निष्क्रिय बनाउने र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार गर्ने कार्य भएको टिप्पणी गरे। साथै उनले आग्रह गरे, "सरकार बोल्न तयार छ, प्रतिपक्षले पनि आफ्नो कुरा राख्न सक्छ। तर अवरोध र नाकाबन्दी संसदको मर्यादाविपरीत हो।"
प्रमुख सचेतक बर्तौलाले संसद चल्न नदिने हो भने जनताका मुद्दा र सरोकारका विषयहरू उठाउन समेत कठिन हुने भन्दै सबै दललाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न अनुरोध गरेका छन्।
प्रतिक्रिया