कोशी प्रदेशमा दस महिनामै झन्डै ५ हजार सवारी दुर्घटना, ३५४ जनाको मृत्यु : कुन जिल्लामा कति ?

शुक्रबार, १६ जेठ २०८२

इटहरी : कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दस महिनामै ४ हजार ६ सय ६३ वटा सवारी दुर्घटना भएका छन् ।

ती दुर्घटनामा परी ३५४ जनाले ज्यान गुमाएका छन् भने ७ हजार ७ सय २८ जना घाइते भएका छन् । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशीका प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठका अनुसार पछिल्लो दुई वर्षदेखि सवारी दुर्घटनाको सङ्ख्या लगातार बढ्दो छ ।

प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना तराईका तीन जिल्ला मोरङ, झापा र सुनसरीमा भएको छ । मोरङमा सबैभन्दा धेरै १ हजार ७२२ दुर्घटना हुँदा १०५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, २ हजार ५५६ जना सामान्य घाइते र २०५ जना गम्भीर घाइते भएका छन् । झापामा १ हजार ८६ सवारी दुर्घटनामा ८० जनाको मृत्यु भएको छ भने १ हजार ६१७ जना सामान्य र १२७ जना गम्भीर घाइते भएका छन् ।

सुनसरीमा १ हजार १२५ दुर्घटनामा ७५ जनाको ज्यान गएको छ ।  कार्यालयका अनुसार त्यस क्रममा १ हजार ७०२ जना सामान्य र १२० जना गम्भीर घाइते भएका छन् ।

यस्तै,उदयपुरमा २२९ दुर्घटनामा ३० जनाको मृत्यु र ६९ गम्भीर घाइते भएका छन् भने धनकुटामा १०७ दुर्घटनामा १३ जनाको मृत्यु, १९ गम्भीर घाइते र १८६ जना सामान्य घाइते भएका छन् ।

सङ्खुवासभामा भएको दुर्घटनामा  १२ जनाको ज्यान गएको छ भने दुर्घटनामा ७ जना गम्भीर र ७७ जना सामान्य घाइते भएका छन् । भोजपुरमा ४१ दुर्घटनामा ७ जना गम्भीरसहित ६१ जना घाइते भएका छन् । इलाममा ७६ दुर्घटनामा ८ जनाको, पाँचथरमा ५५ दुर्घटनामा ४ जनाको र खोटाङमा ४४ दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

त्यस्तै सोलुखुम्बु र ओखलढुङ्गामा क्रमशः ३/३ जनाको मृत्यु भएको छ । सबैभन्दा कम दुर्घटना तेह्रथुममा भएको छ जहाँ ४० दुर्घटनामा १ जनाले मात्र ज्यान गुमाएका छन् ।

तथ्यांकअनुसार,अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ३ हजार ५६३ सवारी दुर्घटनामा ३९७ जनाले ज्यान गुमाएका थिए भने त्यसअघि २०७९/८० मा ३ हजार ५१० दुर्घटनामा ४१२ जनाको मृत्यु भएको थियो ।

तीन वर्षको तुलना गर्दा सवारी दुर्घटनाको सङ्ख्या र गम्भीरता दुवै वर्षेत्तर वृद्धि भइरहेको देखिन्छ । कोशी प्रदेशमा सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर दुर्घटनामा परेको ट्राफिक प्रहरीले जनाएको छ ।

कोशी प्रदेशमा सवारी दुर्घटनाको संख्या दिन प्रतिदिन बढ्दै सँगै ज्यान गुमाउनेको संख्या पनि बढिरहेकाले यस स्थितिप्रति आम जनमानस चिन्तित बनेका छन्। सडकमा देखिने दुर्घटनाहरू हेर्दा त्रुटी चालकको हो कि ट्राफिक व्यवस्थापनको, सडक संरचनाको हो कि सवारी साधनको नियमित परीक्षण नहुनुजस्ता पक्षको प्रश्न उठ्न थालेको छ।

गत हप्ता मात्र प्रदेशका विभिन्न स्थानमा भएका दुर्घटनामा आधा दर्जन बढी व्यक्तिले ज्यान गुमाएका छन्। नेपाल प्रहरीको तथ्यांक अनुसार, पनि मुख्यतः तीव्र गतिमा सवारी चलाउने, ट्राफिक नियमको उल्लंघन गर्ने, मद्यपान गरेर गाडी चलाउनेजस्ता कारणले दुर्घटनाको जोखिम बढेको पाइन्छ। तर अर्कोतर्फ, सडकको अवस्था, सावधानी संकेतको अभाव,मोडहरूमा गति नियन्त्रणका उपाय नभएकोजस्ता संरचनागत कमजोरीहरूले पनि दुर्घटनामा उत्तिकै भूमिका खेलेका छन्।

कोशी प्रदेशका प्रमुख सडकहरूमा ट्राफिक प्रहरीको उपस्थिति न्यून देखिन्छ। कतिपय ठाउँमा त सवारी चेकजाँच नाम मात्रको हुने गरेको सर्वसाधारणको गुनासो छ। अर्कातर्फ सवारी चालक अनुमतिपत्र वितरण प्रक्रियामा पनि ढिलासुस्ती र अपारदर्शिता रहेको बताइन्छ। त्यसैले असक्षम वा नियम नजान्ने चालकले पनि सजिलै लाइसेन्स हात पारिरहेका छन्।

सडक सुरक्षाको जिम्मा सरकारको हो, तर सडक प्रयोग गर्ने सबैको चेतना पनि उत्तिकै आवश्यक पर्छ। चालक, पैदल यात्रु, ट्राफिक प्रहरी र नीति निर्माण तहमा बस्ने सबै पक्ष जिम्मेवार नबनेसम्म सवारी दुर्घटना घटाउने प्रयास सफल हुन सक्दैन।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार