सुनसरी : कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा दुर्लभ पानी चरा ‘लालकण्ठे फालारोप’ फेला परेको छ। चराविद् अनिष तिम्सिनाका अनुसार यो चराको नेपालमा गरिएको यो तेस्रो रेकर्ड हो।
यसअघि सन् १९८२ मा पहिलो पटक विदेशी पर्यटकले रारा राष्ट्रिय निकुञ्जको रारा तालमा यसको उपस्थितिको अभिलेख गरेका थिए। त्यसपछि सन् २००८ मा से फोक्सुण्डो राष्ट्रिय निकुञ्जको फोक्सुण्डो तालमा दोस्रोपटक फेला परेको थियो।
तेस्रोपटक भने वि.सं. २०८२ साल जेठ १५ गते बिहान ११:३० बजे कोशी ब्यारेज क्षेत्रमा तिम्सिनाले स्वयं यस चरालाई देखेर अभिलेख गरेका हुन्। नदी क्षेत्रको वरपर विचरण गरिरहेको अवस्थामा यो चरा देखिएको हो।
सामान्यतया साइबेरियाको माथिल्लो क्षेत्रमा बच्चा कोरल्न जाने ‘लालकण्ठे फालारोप’ नेपालमा अत्यन्तै दुर्लभ रूपमा मात्र देखिन्छ। यसपटक कोशी टप्पुमा यसको उपस्थिति पुष्टि हुनु जैविक विविधताका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।
प्रतिक्रिया