अमेरिकामै लुके माओवादीका नेता दाहाल, वर्षदिनसम्म सेवा सुविधा बुझ्दै

मंगलबार, १३ साउन २०८२

पोखरा : नेकपा माओवादी केन्द्रका नेता तथा कास्कीको मादी गाउँपालिका–१२ का निर्वाचित वडाध्यक्ष कृष्णराज दाहाल झन्डै एक वर्षदेखि अमेरिकामा बसेर सम्पर्कविहीन बनेका छन् ।

चार दिनका लागि भन्दै कार्यवाहक तोकेर अमेरिका गएका उनी उतै लुकेर बसेका छन् । सो अवधिमा उनले नेपालस्थित बैङ्क खाताबाट सरकारी सेवा सुविधा समेत लिएका छन् ।

गत वर्ष असार १६ गते श्रीमतीलाई डिभी परेपछि दाहालले वडा सदस्य लक्ष्मी गिरीलाई कार्यवाहक जिम्मेवारी दिएर अमेरिका प्रस्थान गरेका थिए ।

आफन्त दुर्घटनामा परेकाले काठमाडौँ जानुपर्ने भन्दै एक साताका लागि कार्यवाहक तोकेर गएका उनले अमेरिकाबाट दुई महिना, छ महिना र एक वर्षमा फर्किने भन्दै झुटा आश्वासन दिए । तर उनी अहिलेसम्म नफर्किएको वडा कार्यालय र गाउँपालिका स्रोतले जनाएको छ ।

सम्पर्कविहीन दाहालका कारण कार्यवाहक जिम्मेवारी लिइरहेकी लक्ष्मी गिरीले आफूले अब जिम्मेवारी बहन गर्न नसक्ने भन्दै गाउँपालिकामा दुई पटक निवेदन दिएकी छिन् । तर गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले विकल्प नभएकाले जिम्मेवारी नछोड्न आग्रह गरेका छन् ।

दाहालको अनुपस्थितिमा असार १७ गते गाउँसभाले नीति तथा कार्यक्रम तथा बजेट पारित गरेको थियो । गाउँपालिकाले दाहालको खोजीका लागि पार्टीलाई समेत पत्राचार गर्‍यो तर माओवादी मादी गाउँ कमिटी अध्यक्ष मित्रबहादुर गुरुङले पार्टीलाई जानकारी नदिई दाहाल अमेरिका गएको बताएका छन् ।

दाहाल अमेरिका रहँदा पनि उनको बैङ्क खातामा पाँच महिनासम्म सात शीर्षकमा जम्मा १ लाख ३३ हजार ६५० रुपैयाँ सेवा सुविधा पठाइएको भेटिएको छ ।

यातायात, इन्टरनेट, टेलिफोन, अतिथि सत्कार, अनुगमन, समन्वय तथा चाडपर्व भत्ताको रकम नियमित रूपमा खातामा जम्मा गरिँदै आएको थियो । गत पुसको गाउँसभा अनुपस्थित भएपछि सेवा सुविधा रोकिएको गाउँपालिका स्रोतले जनाएको छ ।

स्थानीय तह जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धी ऐनअनुसार यी सुविधा उपलब्ध गराइएको भए पनि सम्पर्कविहीन अवस्थामा सेवा सुविधा लिएको विषयमा प्रश्न उठ्न थालेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार