बागमतीमा सत्तायुद्ध : काँग्रेसमा नेतृत्व परिवर्तनको सङ्घार, बानियाँ–चित्रकार भिडन्तबिच सत्ता समीकरण बदलिने सङ्केत

बुधबार, १४ साउन २०८२

हेटौँडा : बागमती प्रदेशमा काँग्रेसभित्रको नेतृत्व सङ्कट र सत्ता समीकरणको हलचल चरम उत्कर्षमा पुगेको छ।

मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएपछि बुधवार काँग्रेसले नयाँ नेताको चयनका लागि निर्वाचन गर्न लागेको छ।

दलको नेतृत्वमा सभापति इन्द्रबहादुर बानियाँ र उपनेता रामकृष्ण चित्रकारबीच प्रतिस्पर्धा हुँदैछ,जसले प्रदेशको सत्ता सन्तुलन र स्थिरतालाई निर्णायक मोड दिन सक्ने देखिएको छ।

कांग्रेस कार्यसम्पादन समितिले हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गर्दै बुधवार बिहान ८ बजे मतदान प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ।

समितिमा ऋषिराम घिमिरे र जीवन डङ्गोल सदस्य रहेका छन्। पछिल्लो अविश्वास प्रस्तावमा लामाविरुद्ध २२ मत खसेर उनी अल्पमतमा परेपछि सत्ता सङ्घर्ष खुल्ला मञ्चमा आएको हो।

बानियाँको आक्रामक रणनीति : नेतृत्वदेखि मुख्यमन्त्रीसम्म

पार्टी सभापति बानियाँ लामाविरुद्धको अविश्वास प्रस्तावको अगुवाइ गर्दै अब मुख्यमन्त्री बन्ने रणनीतिमा अघि बढेका छन्। २०७९ को दलको चुनावमा ५ मतले लामासँग पराजित भएका बानियाँ यस पटक सशक्त चुनौतीका रूपमा उदाएका छन्। ‘पुनः नेतृत्वमा फर्किने र सरकार परिवर्तनको नेतृत्व गर्ने’ बानियाँको तयारीले काङ्ग्रेसभित्र नेतृत्व हस्तान्तरण निश्चित प्रायः देखिएको छ।

लामाको अडान : पद जोगाउने प्रयास

अविश्वासको मतमा पराजित भए पनि मुख्यमन्त्री लामाले पद नछाड्ने अडान लिएका छन्। ‘दलको नेता नभए पनि गठबन्धनको आधारमा मुख्यमन्त्री बन्न सकिन्छ’, भन्दै उनले सत्ता सम्हालिरहने सङ्केत गरेका छन्। लामाले दलभित्र सहमति खोजेर नयाँ नेता चयन गर्नुपर्ने बताए पनि आफू पदमा रहने सङ्केतले सत्तासंघर्ष झनै चर्किएको छ।

सत्ता समीकरण अस्थिर, गठबन्धन सङ्कटमा

काँग्रेसका ५ मन्त्रीले पहिल्यै राजीनामा दिइसकेका छन् भने मङ्गलवार खानेपानीमन्त्री श्यामबहादुर खड्काको राजीनामाले सरकार थप सङ्कटमा परेको छ। एमालेसँगको गठबन्धन अस्थिर बन्दै गएको चर्चा छ। ११० सदस्यीय प्रदेश सभामा कांग्रेस ३७ र एमाले २७ सिटसहित बहुमतमा छ, तर आन्तरिक असहमति र नेतृत्व सङ्कटले गठबन्धन धरापमा परेको आङ्कलन हुँदैछ।

एमालेको बैठक : रणनीति पुनः निर्धारण

बुधवार नै एमाले बागमती संसदीय दलले बैठक डाकेको छ। प्रमुख सचेतक मधुसूदन पौडेलका अनुसार बैठकमा वर्तमान राजनीतिक सङ्कट, सरकारको भविष्य र दलको रणनीति तय गरिनेछ। सत्ता समीकरणमा सम्भावित फेरबदलका बिच एमालेको भूमिका निर्णायक बन्न सक्ने आङ्कलन छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार