काठमाडौं : नेकपा एमाले सचिवालय बैठकमा पहिलो पटक अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएको छ। जेन-जी आन्दोलनपछि आइतबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीको राजनीतिक धरातल र औचित्य सकिएको भन्दै राजीनामा मागिएको हो। बैठक भक्तपुरको गुण्डुस्थित ओली निवासमा बसेको हो।
बैठकमा सचिवालय सदस्यहरूले ओलीलाई बदलिँदो राजनीतिक परिस्थितिमा अध्यक्षबाट राजीनामा दिएर अभिभावक भएर बस्न आग्रह गरे। उनीहरूले ओली नेतृत्वको सरकारले गरेका राम्रानराम्रा कामको जिम्मेवारी सबै पार्टीले लिनेगरी उनलाई अभिभावकको भूमिकामा बस्न सुझाएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए तर ओली भने महाधिवेशनबाट नेतृत्वको टुङ्गो लगाउने मनस्थितिमा देखिएका छन्।
बैठकमा एमाले सचिव योगेश भट्टराईले ‘स्टप र स्टेप डाउन’ नै अहिलेको विकल्प भएको बताउँदै त्यसका लागि अध्यक्ष ओलीले पदबाट राजीनामा दिनुपर्ने र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा महाधिवेशनमा जानुपर्ने धारणा राखेका थिए।
जेनजी आन्दोलन र सत्तापलटपछि पहिलोपटक बसेको एमाले सचिवालय बैठकलाई सर्वत्र चासोका साथ हेरिएको थियो। बैठकमा सचिवालयका अधिक सदस्यले बदलिँदो परिस्थितिलाई ध्यान दिएर अध्यक्षबाट ओलीले राजीनामा दिँदा नै उनी स्वयं र पार्टीका लागि उपयुक्त हुने धारणा राखेका थिए। ‘अहिले एमालेको राजनीतिक भविष्यमाथि निकै ठुलो सङ्कट र चुनौती आइपरेको छ। यसअघिको भन्दा अहिलेको चुनौती ठुलो हो। यसकारण पनि शीर्ष नेतृत्वले यो विषयमा सोच्नुपर्ने अवस्था छ’, बैठकमा सदस्यहरूले भनेका थिए।
बैठकमा जेनजी आन्दोलन, आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षति, तत्कालीन सरकारको भूमिका र पार्टीको अबको कार्यदिशाबारे छलफल भएको छ।
जेनजी आन्दोलनले जबरजस्त स्थापित गरेको युवा नेतृत्वको आवाज, दलहरूमा सुरु भएको पुनर्गठन र रूपान्तरणको विषयले एमाले बैठकमा पनि प्रवेश पायो। ‘अब हामीले सम्मानजनक अभिभावकको भूमिका अध्यक्षज्यूबाट खोजेका छौँ’, बैठकमा सचिव भट्टराईले भनेका थिए। उनलाई उद्धृत गर्दै बैठकमा सहभागी एक पदाधिकारीले भने, ‘अब पार्टीमा नयाँ नेतृत्वका लागि बहस प्रारम्भ भयो। योगेश भट्टराईले यो विषयलाई उठाउनुभयो, जुन निकै राम्रो पक्ष हो। उहाँले यो कुरा उठाएपछि एमालेमा आशाको सञ्चार भएको छ।’
सचिव भट्टराईले बैठकमा अध्यक्ष ओलीलाई मात्र दोष दिएर अरू उम्किन नमिल्ने बताएका थिए। ‘पार्टी र आन्दोलनको पुनर्गठन गरिरहँदा हामीले इतिहासको बेवास्ता र अपमान गर्नु हुन्न। पार्टीका नेताहरू, जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय तपाईँ–हामी पनि उहाँहरूसँगै थियौँ। यस अवधिमा भएका जसअपजसका कामको भागीदार हामी पनि हौँ’, उनले भनेका थिए।
बैठकमा जेनजी आन्दोलनका क्रममा मानवीय र भौतिक क्षति हुनुमा कहाँनेर कमजोरी भयो भन्ने विषयमा पार्टीले समीक्षा गरी आत्मालोचना गर्दै माफी माग्नुपर्ने धारणा पनि सदस्यहरूले राखेका थिए।
गत भदौमा ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिको एकसाथ समीक्षा गर्दै सचिवालय बैठकमा अधिकांश पदाधिकारीले स्पष्ट रूपमा ओलीलाई ओलीलाई पद छाड्न आग्रह गरेका थिए। बैठकमा अन्य नेताहरूभन्दा सचिव भट्टराई बढी हाबी भएका थिए।
‘भट्टराईले राजनीतिक धरातल नभएको अवस्थामा पार्टी पुरानै नेतृत्वको आधारमा चुनावमा जाँदा वा सङ्गठन निर्माण गर्दा परिस्थिति प्रतिकूल हुने व्याख्या गर्नुभयो’, सहभागी अर्का एक पदाधिकारीले भने। ती पदाधिकारीका अनुसार अरू साथीहरूले पनि धारणा राखेका थिए तर मार्गचित्र र व्याख्याका रूपमा भट्टराईले स्पष्ट रूपमा कुरा राखेका थिए।
आफ्नो नेतृत्वमाथि प्रश्न उठ्छ भन्ने आकलन गरेका ओलीले सचिवालय बैठकअघि पदाधिकारीहरूलाई निवासमा बोलाएर ‘वान टु वान’ छलफल गरेका थिए। त्यस क्रममा केही पदाधिकारीले उनलाई संरक्षकको भूमिकामा रही नेतृत्व हस्तान्तरणका लागि सहजीकरण गर्न सुझाएका थिए।
अराजनीतिक ढङ्गले अघि बढ्दा पार्टीलाई क्षति पुग्ने भन्दै नेताहरूले परिस्थितिको विश्लेषण गरेर संयमका साथ पार्टी पङ्क्तिको रक्षा र लोकतान्त्रिक आन्दोलनका उपलब्धि जोगाउँदै अघि बढ्नुपर्ने धारणा राखेका थिए। करिब ५ घण्टा बसेको बैठकमा सबै पदाधिकारीले धारणा राखेका थिए। उपाध्यक्ष गुरु बराल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालबाहेक सबैले पार्टी नेतृत्वमाथि प्रश्न उठेकाले यही अवस्थामा पार्टी अगाडि बढ्न नसक्ने बताएका थिए।
यसअघि नै ओलीको विपक्षमा उभिएका वरिष्ठ उपाध्यक्ष पोखरेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेले पनि सचिवालय अहिलेको नेतृत्वलाई जनताले नरुचाएको धारणा राखेका थिए। बैठकमा उपाध्यक्ष विष्णु पौडेल, अष्टलक्ष्मी शाक्यले पनि ओलीको नेतृत्व अस्वीकार भैसकेको बताएका थिए। उनीहरूले आफूहरूले ओलीको नेतृत्वलाई स्वीकार गरे पनि जनताले अस्वीकार गरेपछि यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखेका थिए।
बैठकमा महासचिव पोखरेल, उपमहासचिवद्वय ज्ञवाली र रिमालले अहिले नै नेतृत्वको विषयमा प्रश्न उठाउँदा अन्याय हुने धारणा राखेका थिए। उनीहरूले नेतृत्वको विषयमा प्रश्न उठाउने बेला नभएको र महाधिवेशनमा मात्रै यस विषयमा छलफल हुन सक्ने बताएका थिए। महासचिव पोखरेलले यो विषयमा लामै व्याख्या गरेको बैठक स्रोतले जनाएको छ।
१८ सदस्यीय सचिवालय बैठकपछि उपमहासचिव ज्ञवालीले छलफल जारी रहेका कारण निष्कर्षमा पुग्न यही असोज १९ र २० गते फेरि बैठक बस्ने जानकारी दिए। ‘पार्टीलाई अब नयाँ ढङ्गले कसरी लैजाने भन्ने विषयमा छलफल भयो। बदलिँदो परिस्थितिबारे एमालेले मिहिन तरिकाले छलफल गर्ने छ। यसका लागि यही असोज २७ र २९ गतेका लागि केन्द्रीय कमिटीको बैठक पनि आह्वान गरिएको छ। सम्भवतः त्यो बैठकले महाधिवेशनको पनि टुङ्गो लगाउँछ,’ उपमहासचिव ज्ञवालीले भने।
नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया