चीनका पूर्व कृषिमन्त्रीलाई घुसकाण्डमा मृत्युदण्डको फैसला

आइतबार, १२ असोज २०८२
सांकेतिक फाईल

चीनका पूर्व कृषिमन्त्री ताङ रेन्जियानलाई भ्रष्टाचार आरोपमा आइतबार दुई वर्षको स्थगनसहित मृत्युदण्डको सजाय सुनाइएको छ । यसबारेको जानकारी उत्तरपूर्वी जिलिन प्रान्तस्थित चाङ्चुन जन अदालतले एक विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो ।

अदालतका अनुसार ताङले सन् २००७ देखि २०२४ सम्म करिब दुई अर्ब ६८ करोड युआन (अन्दाजी तीन करोड ८० लाख अमेरिकी डलर) बराबरको नगद र सम्पत्ति घुसस्वरूप लिएको प्रमाणित भएको छ ।

फैसालामा भनिएको छ, “यस घुसकाण्डले राज्य र जनताको हितमा अत्यन्त गम्भीर क्षति पु¥याएको छ, त्यसैले मृत्युदण्डको सजाय आवश्यक ठहरिन्छ ।” 

अदालतले भने पनि ताङले आफ्नो अपराध स्वीकार गरी पश्चात्ताप देखाएकाले सजायलाई दुई वर्षका लागि स्थगित गरिएको हो ।

यो फैसला राष्ट्रपति सी जिनपिङको व्यापक भ्रष्टाचारविरोधी अभियानअन्तर्गतको पछिल्लो कदम हो । सो अभियानका समर्थकहरूले यसले स्वच्छ शासनलाई सबल बनाएको बताउँछन् भने आलोचकहरूले यसलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हटाउने माध्यमका रूपमा व्याख्या गर्ने गरेका छन् ।

ताङ रेन्जियानले यसअघि गान्सु प्रान्तका गभर्नर र दक्षिणी स्वायत्त क्षेत्र गुआङ्सीका उपाध्यक्षका रूपमा समेत सेवा गरेका थिए । 

उनको पतन हालैका वर्षमा भ्रष्टाचार अनुसन्धानमा परेका अन्य वरिष्ठ अधिकारीहरू — पूर्व रक्षामन्त्री ली साङ्फु र वेइ फेङ्घे — सँगै जोडिएको मानिन्छ । लीलाई पदभार ग्रहण गरेको सात महिनामै हटाइएको थियो र पछि घुसखोरीलगायतका अपराधका कारण चिनियाँ कम्युनिष्ट पार्टीबाट निष्कासन गरिएको राज्य सञ्चारमाध्यमहरूले जनाएका थिए ।
 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार