काठमाडौँ : सामाजिक सुरक्षा कोषले एक खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको छ। कोषका कार्यकारी निर्देशक कविराज अधिकारीका अनुसार कोषमा योगदानकर्ताबाट जम्मा भएको ९५ अर्बसहित एक खर्ब २६ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरिएको छ।
आठौँ सामाजिक सुरक्षा कोष दिवसमा उनले लगानी कार्यविधिअनुसार मुद्दती खातादेखि विभिन्न ऋणपत्रमा लगानी भएको जानकारी दिए।
उनका अनुसार ५८ अर्ब ८९ करोड बैंकका विभिन्न मुद्दतीमा, ३२ अर्ब १९ करोड ट्रेजरी बिलमा, २१ अर्ब ७६ करोड विकास ऋणपत्रमा, चार अर्ब ५२ करोड डिबेञ्चरमा र एक अर्ब ९५ करोड म्युचुअल फण्डमा लगानी भएको छ।
त्यस्तै, २० हजार योगदानकर्तालाई सापटीबापत सात अर्ब ७९ करोड ८३ लाख लगानी गरिएको छ। योगदानकर्ता सापटीअन्तर्गत ५.२ प्रतिशत ब्याजदरमा विशेष सापटी तथा ५.८६ प्रतिशत ब्याजदरमा घर तथा शैक्षिक सापटी प्रदान गरिँदै आएको छ।
कोषमा श्रमिकको आबद्धताका लागि एक सय १४ पालिकासँग सम्झौता भइसकेको र केही पालिकाले योगदान रकम जम्मा गर्न थालेको अधिकारीले बताए।
कोषका तथ्याङ्क अनुसार औपचारिक क्षेत्रका छ लाख ४९ हजार पाँच सय ११, वैदेशिक रोजगारीमा रहेका १९ लाख ९६ हजार पाँच सय ७९, अनौपचारिक क्षेत्रका ७ सय ९९ र स्वरोजगार क्षेत्रका ५८२ श्रमिक योजनामा आबद्ध छन्।
सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतका राष्ट्रिय समाचार समिति, गोरखापत्र संस्था, सार्वजनिक प्रसारण सेवा नेपाल, प्रेस काउन्सिल नेपाल र सामाजिक सुरक्षा कोषबीच मातहतका कर्मचारीलाई सामाजिक सुरक्षामा आबद्ध गराउने समझदारी भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिएर सानका रूपमा लिन निजी क्षेत्रलाई आग्रह गरिन्। उनले सामाजिक न्यायका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी हुनुपर्ने बताइन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्करले श्रमिकका पक्षमा कोष स्थापना भएको भन्दै योजनामा आबद्धता र जनचेतना बढाउने प्रतिबद्धता व्यक्त गरे। जेटियुसिसी अध्यक्ष जगत् सिंखडाले योजनालाई अझ परिष्कृत र योगदानकर्तामैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिए।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोषमा जम्मा भएको रकम उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्नेमा जोड दिए। उनका अनुसार हालसम्म ९५ अर्ब ६८ करोड योगदान सङ्कलन भएको छ। ढकालले श्रम ऐन २०८४ तथा सामाजिक सुरक्षा ऐन २०७४ कार्यान्वयनसँगै सामाजिक सुरक्षा प्रणाली संस्थागत रूपमा अघि बढेको बताए।
ढकालले कोषलाई डिजिटल सेवा विस्तार, लघु तथा मध्यम उद्योगमाथि पर्ने कार्यान्वयन बोझ घटाउने र अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई प्रणालीमा जोड्न आग्रह गरे। उनले लगानी संरचना पारदर्शी, सुरक्षित र जोखिम व्यवस्थापनयुक्त हुनुपर्ने आवश्यकता औँल्याए।
आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सबैभन्दा बढी योगदान गर्ने कम्पनीहरू सम्मानित भए। सम्मान प्रदान गर्ने प्रमुख अतिथि प्रधानमन्त्री सुशीला कार्की थिइन्।
सबैभन्दा बढी योगदान रकमका आधारमा लक्ष्मी सनराइज बैंक, अरिहन्त मल्टी फाइबर्स, भाटभटेनी सुपरमार्केट, गोर्खा वेलफेयर ट्रष्ट नेपाल र सुदर्शन सेक्युरिटी सर्भिस प्रालि सम्मानित भए।
त्यस्तै, योगदान रकमका आधारमा युलेन्स एजुकेसन फाउन्डेसन, वर्ल्ड भिजन इन्टरनेसनल र सिडार गेट सर्भिसेज प्रालि सम्मानित भए। योगदानकर्ताका आधारमा चितवन मेडिकल कलेज, नर्भिक अस्पताल र स्प्राउट टेक्नोलोजी सम्मानित भए।
स्वास्थ्य सेवा सम्झौता गरेका संस्थामध्ये सबैभन्दा धेरै योगदानकर्तालाई सेवा प्रदान गर्ने छवटा अस्पताल प्रदेशगत रूपमा छनोट गरी सम्मानित गरिएको छ। कोशी प्रदेशबाट विराट मेडिकल कलेज, मधेसबाट नेसनल मेडिकल कलेज, बागमतीबाट काठमाडौँ मेडिकल कलेज, गण्डकीबाट चरक मेमोरियल हस्पिटल, लुम्बिनीबाट लर्ड बुद्ध एजुकेसनल एकेडेमी र सुदूरपश्चिमबाट नवजीवन अस्पताल प्रालि छनोट भएका छन्।
प्रतिक्रिया