विद्यार्थीको नाममा ‘व्यापार’: नेपालमा विदेशीको गैरकानुनी क्रियाकलाप बढेपछि कारबाही तीव्र

शुक्रबार, १२ मंसिर २०८२

काठमाडौँ : अध्ययन भिसा (प्रवेशाज्ञा) का नाममा नेपाल आएका विदेशी विद्यार्थी गैरकानुनी कार्यमा संलग्न रहेको पाइएको छ। गैरकानुनी गतिविधिमा संलग्न भएको पुष्टि भएपछि अध्यागमन विभागले थुप्रै विदेशीलाई फिर्ता पठाइदिएको छ भने शुल्क असुल्ने उद्देश्यले मात्रै विदेशी विद्यार्थीलाई भर्ना नगर्न शैक्षिक संस्थालाई सचेत गराएको छ।

नेपालमा अध्ययन गर्न आएको भनी कागजपत्र पेस गरेपछि विदेशी नागरिकले सहजै भिसा पाउने गरेका छन्। यस्ता विद्यार्थीमध्ये धेरैले विभिन्न विश्वविद्यालय र शिक्षण संस्थामा उच्च शिक्षा, नेपाली भाषा, संस्कृति, कला, साहित्य, सङ्गीतलगायतका विषय पढ्ने भनेर भर्ना लिने गरेका छन्।

तर विद्यार्थीको नाममा भर्ना भएर पनि सामान बेच्ने, नेपालीसँग मिलेर गोप्य रूपमा होटल–रेस्टुरेन्ट सञ्चालन गर्ने तथा अन्य गैरकानुनी क्रियाकलापमा संलग्न हुने गरेको भेटिएको छ। विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार विदेशी विद्यार्थी प्रायः नेपाली भाषा अध्ययनका लागि विश्वभाषा क्याम्पस र संस्कृत अध्ययनका लागि वाल्मीकि विद्यापीठमा भर्ना हुने गरेका छन्। उपत्यकाबाहिरका विभिन्न संस्थामा सिपमूलक तालिमका लागि भर्ना हुने गरेको तथ्य पनि अनुसन्धानबाट देखिएको छ।

विदेशी नागरिकले अध्ययनका लागि भर्ना हुन शैक्षिक संस्थाको सिफारिससहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कागजपत्र पेस गर्नुपर्छ। त्यसपछि मन्त्रालयले अध्यागमन विभागलाई अध्ययन भिसा उपलब्ध गराउन सिफारिस गर्छ। तर केही शैक्षिक संस्थाले आफ्नो आम्दानीको उद्देश्यले मात्रै विद्यार्थी भर्ना गर्ने गरेको विभागले जनाएको छ।

विभागका अनुसार अनुगमनका क्रममा कतिपय संस्थाले विद्यार्थी नियमित रूपमा कक्षामा सहभागी नहुने थाहा हुँदाहुँदै पनि भर्ना गर्ने गरेको पाइएको छ। केही विद्यार्थीले पढाइ नसकिँदै बीचमै छोडेर जाने गरेको तथ्य पनि देखिएको छ।

ढकालका अनुसार अध्ययन गर्न आउने विद्यार्थीलाई प्रोत्साहन र सहजीकरण गर्ने पक्षमा विभाग प्रतिबद्ध छ। तर लामो समय नेपाल बस्न वैकल्पिक उपायका रूपमा अध्ययन भिसा लिने र कानुनले निषेध गरेको क्रियाकलापमा संलग्न हुने विदेशीलाई समेत सिफारिस गर्ने प्रवृत्ति देखिएको छ। केही विदेशीले नियमित कक्षामा सहभागी नभएको, भिसा अवधि थप गर्न नक्कली कागजात पेस गर्ने, कोर्ष पूरा भएपछि प्रमाणपत्रसमेत पेस गर्न नसक्ने जस्ता समस्या पनि देखिएका छन्।

कतिपय विदेशी विद्यार्थी गैरकानुनी गतिविधिमा संलग्न हुँदासमेत सम्बन्धित शैक्षिक संस्थाले विभाग वा स्थानीय प्रशासनलाई सूचना नदिएको ढकालले बताए। विश्वभाषा क्याम्पसमा नेपाली भाषा पढ्न भर्ना भएको एक फ्रान्सेली नागरिकले ठमेलमा बेकरी र ललितपुरमा रैथाने होटल सञ्चालन गरेको तथ्यसमेत सार्वजनिक भएको छ। केही समयअघि लुकिछिपी बसिरहेका चार चिनियाँ नागरिकलाई पनि फिर्ता पठाइएको थियो।

एउटा प्रयोजनका लागि भिसा लिएर अर्को काममा लाग्दा राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुनुका साथै अन्तर्राष्ट्रिय समुदायमा नेपालमाथि नकारात्मक प्रभाव पर्न सक्ने विभागले जनाएको छ। विदेशी विद्यार्थीलाई भिसा मात्र उपलब्ध गराउने तथा आम्दानीका लागि मात्र भर्ना गर्ने गलत प्रवृत्ति रोक्नुपर्ने ढकालले बताए।

उनका अनुसार ७७ जिल्लामा रहेको अनुगमन समिति मार्फत शैक्षिक संस्थालाई आफ्ना विद्यार्थी नियमित रूपमा पठन–पाठनमा संलग्न भए/नभएको सुनिश्चित गरी मात्र भिसा सिफारिस गर्न तथा कुनै शङ्कास्पद गतिविधि देखिएमा तुरुन्त अध्यागमन विभाग वा स्थानीय प्रशासनलाई जानकारी गराउन निर्देशन दिइएको छ।

 

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार