आगोले कोशी प्रदेशसभा भवन ध्वस्त बनाएपछि अस्थायी थलोबाट हिउँदे अधिवेशन आह्वान गरिँदै

मंगलबार, १३ माघ २०८२

विराटनगर : जेनजी आन्दोलनपछि पहिलो पटक कोशी प्रदेश सभाको अधिवेशन आह्वानको तयारी गरिदै छ । 

विराटनगरको देवकोटा चोकमा रहेको कोशी प्रदेशसभा भवन भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटले प्रदेशसभाको मूल भवन पूर्ण रूपमा नष्ट भएपछि प्रदेशको संसद बैठक बस्न सकेको थिएन । 

आन्दोलनका क्रममा गरिएको आगजनीले भुइँतला, पहिलो तला र मुख्य बैठक कक्षसहित संरचना ध्वस्त बनेको , आगजनी तथा तोडफोडबाट बचेका  सामग्रीसमेत लुटपाट गरियो । सचिवालयका कागजात, फर्निचर, कम्प्युटर, प्रिन्टर, क्यामेरा, एसीजस्ता सामग्री जलेर नष्ट भए भने परिसरमा रहेका ९ वटा सवारीसाधन पूर्ण रूपमा जले । नेपाल प्रहरी र सशस्त्र प्रहरीका २ वटा गाडीसमेत घटनामा ध्वस्त भएका थिए । 


 भवन प्रयोग गर्न योग्न नहुँदा संसद सञ्चालनका लागि बैकप्लिक स्थान खोजी सुरु गरिदै आएको थियो । लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको मोरङको कटहरी गाउँपालिका वडा नम्बर १ जमटोकीमा रहेको फलफूल तथा कृषि थोक बजार परिसरलाई अस्थायी प्रदेशसभा केन्द्र बनाउने निर्णय गरियो । कात्तिक २६ गतेदेखि सचिवालयका प्रशासनिक काम त्यहीँबाट सञ्चालन भइरहेका छन् ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार प्रदेशसभाको सम्पूर्ण प्रशासनिक काम कृषि थोक बजारकै संरचनाबाट सञ्चालन हुनेछ भने संसद बैठकका लागि भने विराटनगरमा रहेको वीरेन्द्र सभागृह प्रयोग गरिनेछ । उनका अनुसार व्यवस्थापनको अन्तिम टुंगो लगाइसकिएको छ भने माघ २० देखि २५ गतेभित्र हिउँदे अधिवेशन आह्वानको तयारी छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले पनि सरकार अब केही दिनमै अधिवेशन आह्वान गर्ने निष्कर्षमा पुगेको जनाएको छ । लामो समयदेखि संसद नबस्दा विधेयक, नीति छलफल र संसदीय निगरानी प्रभावित बनेको भन्दै सरकारमाथि दबाब बढ्दै आएको थियो ।

अस्थायी रूपमा प्रयोगमा ल्याइएको फलफूल तथा कृषि थोक बजार १३ करोड ७६ लाख ५४ हजार ७ सय १० रुपैयाँ लागतमा निर्माण गरिएको संरचना हो । २०७५ चैत ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेको यो संरचना सञ्चालनमा ल्याउन नसकिएसँगै पछि कटहरी गाउँपालिकालाई जिम्मा दिइएको थियो । अहिले सोही गाउँपालिकाले प्रदेशसभाको प्रशासनिक कामका लागि निःशुल्क उपलब्ध गराएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार