विराटनगर : आगामी हिउँदे अधिवेशनमा कोशी प्रदेशमा आमसञ्चारसम्बन्धी विधेयक पारित हुने आन्तरिक तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले बताएका छन् ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशद्वारा मंगलबार आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री पराजुलीले आगामी हिउँदे अधिवेशनमा आमसञ्चार सम्वन्धी विधेयक पारित हुने बताएका हुन्।
मन्त्री पराजुलीले सञ्चार क्षेत्र व्यवस्थित, सुरक्षित र मर्यादित नभएसम्म संघीय शासन, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न नसकिने समेत बताए । मन्त्री पराजुलीले भने, ‘देशमा सुशासन कायम गर्न सरकार र पत्रकारबीचको सम्बन्ध सहज, पारदर्शी र मैत्रीपूर्ण हुन जरुरी छ ।
वर्तमान अवस्थामा देश जटिल अवस्थामा पुगेको उल्लेख गर्दै मन्त्री पराजुलीले लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा आवश्यक रहेको बताए । पराजुलीले निर्वाचन गराउने र संसदलाई जीवन्त बनाउने काममा सबै लाग्नुपर्नेमा जोड दिए। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पछिल्लो अवस्था बुझ्न कार्यदल गठन गरिएको पनि मन्त्री पराजुलीले जानकारी दिए ।
कार्यक्रममा महासंघका कोशी प्रदेश अध्यक्ष भरत खड्काले कोशी प्रदेशका १४ जिल्लामा कार्यरत १ हजार २ सय श्रमजीवी पत्रकारले भोगिरहेका समस्याबारे प्रकाश पारे । न्यून पारिश्रमिक, पेसागत असुरक्षा, श्रम अधिकारको कार्यान्वयन नहुनु, डिजिटल रूपान्तरणसँग मेल खाने स्रोत र सीपको अभावजस्ता चुनौती बनेको खड्काले भनाइ राखे।
अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरूले श्रम अधिकार, प्रेस स्वतन्त्रता, पेसागत मर्यादा, डिजिटल युगका सीप विकास, विज्ञापन वितरण र सञ्चारमैत्री कानुनी वातावरणबारे प्रश्न उठाएका थिए । मन्त्री पराजुलीले पत्रकारहरुले उठाएका विषयहरू जायज रहेको स्वीकार गर्दै आमसञ्चार विधेयकमार्फत पत्रकारिता पेसाको सुरक्षा, जिम्मेवारी र स्वतन्त्रता सन्तुलित रूपमा सुनिश्चित गरिने जानकारी गराए ।
प्रतिक्रिया