विराटनगर : मोरङ उद्योग व्यापार सङ्घले जिल्ला प्रशासन कार्यालय, मोरङलाई एक थान ल्यान्ड रोभर गाडी प्रदान गरेको छ । सङ्घले आइतबार आयोजित कार्यक्रममा गाडीको चाबी सङ्घका अध्यक्ष अनुपम राठीले प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादवलाई हस्तान्तरण गरे ।
वातावरण क्षेत्रमा काम गर्ने संस्था सिम एन को स्वामित्वमा रहेको उक्त गाडी उद्योग व्यापार सङ्घमार्फत प्रशासनलाई उपलब्ध गराइएको हो । सङ्घले गाडीलाई मर्मत–सम्भार गरेर प्रशासनलाई हस्तान्तरण गरेको जनाएको छ ।
गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनीमा जिल्ला प्रशासन कार्यालयको भवनसँगै सवारी साधन पनि जलेर खरानी भएका थिए । यसपछि प्रमुख जिल्ला अधिकारीलाई दैनिक प्रशासनिक कार्य सञ्चालन र शान्ति–सुरक्षा अनुगमनमा आवतजावत गर्न कठिनाइ भएको थियो ।
गाडी हस्तान्तरणपछि अध्यक्ष राठीले भने, “राज्यको महत्वपूर्ण अङ्ग रहेको जिल्ला प्रशासन कार्यालयलाई सवारी साधनको अभावमा असहज नहोस् भन्ने उद्देश्यले यो सानो सहयोग गरेका हौँ । यसले शान्ति सुरक्षा कायम गर्न र जनसेवामा खटिन थप मद्दत पुग्ने विश्वास छ ।”
सहयोगप्रति आभार व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी यादवले भने, “यो सङ्कटको घडीमा उद्योगी–व्यवसायीले देखाएको सद्भाव सराहनीय छ । यसले निजी क्षेत्र र सरकारबिचको सहकार्यलाई अझ बलियो बनाएको छ ।”
उनले प्राप्त गाडीले शान्ति सुव्यवस्था कायम राख्न तथा नागरिकका गुनासा सम्बोधन गर्न आफूलाई थप उत्साहित बनाएको उल्लेख गरे ।
आन्दोलनअघि प्रशासनसँग तीन वटा सवारी साधन रहेकोमा सबै गाडी जलेर नष्ट भएका कारण नयाँ गाडीले तत्कालीन आवश्यकता पूरा गर्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया