काठमाडौँ : चालु वर्षको वैशाखदेखि साउन १४ गतेसम्म नेपालभर एक हजार ११ वटा आगलागीका घटना भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी आगलागी घटनामा १५ जनाको ज्यान गएको छ भने १४४ जना घाइते भएका छन्। सो अवधिमा आगलागीका कारण एक हजार १२४ घरपरिवार प्रभावित भएका छन्।
प्राधिकरणका अनुसार विगत चार महिनामा विपद्सम्बन्धी कुल दुई हजार ४५६ वटा घटना रेकर्ड भएका छन्। तीमध्ये चट्याङका २४३ घटना हुँदा २८ जनाको मृत्यु र १६९ जना घाइते भएका छन्। चट्याङले २८३ घरपरिवारलाई प्रत्यक्ष असर पुर्याएको छ।
त्यस्तै, सर्पदंशका ६६ घटनामा आठ जनाको ज्यान गएको छ भने ६४ जना घाइते भएका छन्। जनावर आक्रमणका १३४ घटनामा १२ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन्। जनावर आक्रमणले २०६ परिवार प्रभावित भएका छन्। लेक लागेर र हावाहुरीका कारण क्रमशः १२–१२ जनाको मृत्यु भएको छ।
यसैबीच, देशभर २४१ पहिरोका घटना भएका छन् जसमा १२ जनाले ज्यान गुमाएका छन्। हावाहुरीका २७६ घटनामा आठ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
मङ्गलवार मात्रै देशभर बाढीका आठ, पहिरोका १६, आगलागीका पाँच र जनावर आक्रमणका तीन घटना रेकर्ड भएका छन्।
प्रतिक्रिया