रसुवा : आज बिहान २ बजेदेखि भोटेकोशी नदीमा पुनः बाढी आएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले राति नै सूचना जारी गर्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेपछि स्थानीयले आवश्यक सावधानी अपनाएका थिए।
हालसम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रशासनले जनाएको छ। चीन पक्षबाट चीनको भूभागमा भारी वर्षाको सूचना प्राप्त भएपछि बाढीको जोखिमबारे पहिल्यै जानकारी दिइएको थियो। यससँगै रसुवामा उच्च सतर्कता अपनाइएको हो।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीबाट हालसम्म जनधनको क्षति नभएको छ। तर, लगातार वर्षाका कारण विपद्को जोखिम कायमै रहेकाले आवश्यक पूर्वतयारीका साथ उच्च सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले आग्रह गर्नुभएको छ।
नदी आसपास निर्माणाधीन र सञ्चालित आयोजनाहरू तथा तटीय क्षेत्रका कार्यालयहरूलाई पनि पूर्वतयारी र सावधानी अपनाउन सूचना दिइएको छ। साथै, सम्भावित बाढीका कारण जिल्लाका सडक मार्गमा क्षति वा अवरोध हुनसक्ने भएकाले यात्रा गर्दा अत्यावश्यक सावधानी अपनाउन भनिएको छ।
गत असार २४ गते चीनको लेन्दे खोलामा आएको बाढीले ठुलो धनजनको क्षति पुर्याएको थियो। त्यस घटनाबाट पाठ सिक्दै रसुवा प्रशासन पुनः सतर्क भएको हो।
प्रतिक्रिया