इटहरी : भर्खरै सरुवा भई इलाका प्रहरी कार्यालय इटहरीमा कार्यभार सम्हालेका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी संरचना जलाउने, भत्काउने र लुटपाटमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कानुनको दायरामा ल्याउने अभियान सुरु गरेको दाबी गरेका छन ।
डीएसपी हमालले आज कार्यक्रममा बोल्दै भने, “जसले पनि विध्वंसमा संलग्न थिए, उनीहरूलाई कारबाही गर्न दुईमत छैन। सरकारी कार्यालय मात्र होइन, निजी सम्पत्तिमा आगजनी गर्नेहरूलाई पनि कानुन अनुसार कारबाही गरिनेछ।”
उनीहरूले स्थानीयवासीहरूलाई फोटो, भिडियो वा अन्य प्रमाणहरू ह्वाट्सएप, भाइबर वा इमेलमार्फत पठाउन सकिने बताउँदै, प्रमाण उपलब्ध गराउने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य राखिने सुनिश्चित गरे।
डीएसपी हमालले शान्ति–सुरक्षामा स्थानीयवासीको सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै गस्तीमा जनसहभागिता बढाउने, अवैध गतिविधि नियन्त्रण गर्ने र सूचना दिने प्रणालीलाई सक्रिय बनाउने योजना समेत जानकारी गराए।
हाल इलाका प्रहरी कार्यालय इटहरी तरहराबाट सेवा दिइरहेको छ।
इटहरीमा १६१ प्रहरी दरबन्दी रहेका छन् भने तरहरामा दुई, खनार र बालग्राममा अस्थायी प्रहरी चौकी सञ्चालनमा छन्। यस्तै, तालतलैया, हवाईचोक, पूर्वी गैसार, हलगढा, जनताबस्ती, पुष्पलाल चौक, बूढी खोला र शान्तिनगरमा पनि अस्थायी चौकी र सिआरभी प्रहरी परिचालनमा रहेको छ।
डीएसपी हमालले प्रहरीको मनोबल बढ्दै गएको बताउँदै, इलाका प्रहरी कार्यालय कहाँ राख्दा उपयुक्त हुन्छ भन्नेबारे स्थानीयसँग सल्लाहसमेत मागेका छन्।
उनले थपे, “हामी एक कदम पछाडि हटेका मात्र हौँ, तर फ्रन्टलाइनमा आएर स्थानीयको सुरक्षा सुनिश्चित गर्नेछौँ। स्थानीयवासीको सक्रिय सहभागिता र प्रहरीको गस्तीले इटहरीलाई सुरक्षित बनाउन महत्वपूर्ण योगदान पुर्याउनेछ।”
प्रतिक्रिया