काठमाडौँ : युनिटी कप टी–२० सिरिजको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य दिएको छ।
शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रनको योगफल तयार पारेको हो।
नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ६८ रन बनाए। उनले ४७ बलमा ८ चौका र २ छक्का प्रहार गरे। त्यस्तै, सन्दीप जोराले आक्रामक ब्याटिङ गर्दै ३९ बलमा ५ छक्का र ३ चौकासहित ६३ रनको योगदान दिए। अन्त्यतिर आदिल अन्सारीले ५ बलमा ११ रन जोडेर नेपाललाई प्रतिस्पर्धी योगफलसम्म पुर्याए।
नेपालका कप्तान रोहित पौडेल ३ रनमा आउट भए भने कुशल भुर्तेल (२) र कुशल मल्ल (७) ले ठूलो योगदान दिन सकेनन्।
बलिङतर्फ वेस्ट इन्डिजका आकिल होसेन सर्वाधिक किफायती साबित भए। उनले ४ ओभरमा मात्र २१ रन खर्चेर २ विकेट लिएका छन्। काइल मेयर्सले पनि २ ओभरमा २६ रन खर्चेर २ विकेट लिए। त्यस्तै, जेडियाह ब्लेड्सले १ विकेट हात पारे भने अन्य बलरहरू रन रोक्न खासै सफल भएनन्। जेसन होल्डरले ४ ओभरमा ३९ रन दिए भने नाभिन बिडाइसीले ३ ओभरमा २८ रन खर्चे।
अब वेस्ट इन्डिजले सिरिज बराबरी गर्नका लागि १७४ रन बनाउनुपर्नेछ। नेपालले भने जित निकाल्दै सिरिजमै कब्जा गर्ने लक्ष्य लिएको छ।
प्रतिक्रिया