विराटनगरमा शेखर कोइराला : ‘सरकारको विकल्प छैन, पूर्वराष्ट्रपति राजनीतिमा फर्कनु उपयुक्त होइन’

बुधबार, १४ साउन २०८२

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हाल सत्तामा रहेको गठबन्धन सरकारको तत्काल विकल्प नरहेको बताएका छन् । बुधबार विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले दुई ठूला दलहरूबीचको सहमति र समर्थनमा बनेको वर्तमान सरकार २०८४ सम्म टिक्नुपर्नेमा जोड दिए ।

‘ठूला दलहरू मिलेर बनेको सरकारको विकल्प अरू कुन हुन्छ ? सरकारले अपेक्षित रूपमा काम गर्न सकेको छैन, तर विकल्प पनि छैन,’ कोइरालाले भने, ‘हामी चाहन्छौँ यो सरकार २०८४ सम्म चलोस् ।’

कोइरालाले संसदमा बहुमत जुटाउन सक्ने अवस्था कुनै पनि दलसँग नरहेकाले सरकार परिवर्तनको सम्भावना नरहेको स्पष्ट पारे । दल तथा नेताहरूबीचको भेटघाटलाई स्वाभाविक भन्दै उनले राजनीतिक संवाद आवश्यक रहेको बताए । ‘पहिले माओवादी र कांग्रेस सरकारमा हुँदा पनि म ओलीजीलाई भेट्थेँ । अहिले भेटेको कुरालाई किन विषय बनाउने ?’ उनले प्रश्न गरे ।

पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिका विषयमा बोल्दै कोइरालाले संविधानले उनीहरूलाई राजनीतिमा फर्कन छुट दिएको भए पनि व्यक्तिगत रूपमा त्यो उपयुक्त नहुने धारणा व्यक्त गरे । ‘उनीहरू फर्कन चाहेमा रोक्न सकिँदैन । तर, नफर्किएको राम्रो,’ उनले भने ।

शेखर कोइरालाले संसदमा पारित कर्मचारी विधेयकमा कुलिङ पिरियडको गडबडीमा सबै दलको दोष रहेको स्वीकार गरे । ‘हामीले विधेयक नपढी विश्वास गरेर पास गर्यौं, त्यो गल्ती हो,’ उनले भने, ‘यसबारे मुख्य दोष समितिका सभापति र एमालेको छ ।’

प्रधानमन्त्रीले ७ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै उनले असन्तोष व्यक्त गरे । साथै, संवैधानिक परिषदसम्बन्धी विधेयकलाई ‘खतरनाक’ भन्दै राष्ट्रपतिबाट फिर्ता पठाइएकाले पुनः छलफल आवश्यक रहेको पनि बताए ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार