विराटनगर : कोशी प्रदेशसभाका सभामुख अमरबहादुर विष्टले सरकारी गाडीमा निजी नम्बर प्लेट जडान गरी चलाएको खुलासा भएपछि उनी विवादमा तानिएका छन् । राप्रपाबाट सभामुख बनेका बिस्टविरुद्ध अहिले आफ्नै पार्टीभित्रैबाट राजीनामाको दबाब बढेको छ।
राप्रपा कोशीका पूर्वसचिव गणेशप्रसाद दुलालले सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै सभामुख विष्टले तत्काल पद त्याग गर्नुपर्ने माग गरेका छन्।
दुलालले राप्रपाको ‘प्रदेश सभा खारेजी’ एजेन्डा स्वयं पार्टीकै पदाधिकारीले मास्क गर्न खोजेको आरोप लगाउँदै प्रदेशसभामा रहेका सम्पूर्ण सांसदलाई फिर्ता बोलाउनसमेत आग्रह गरेका छन्।_gcp6UQ0OEM.jpg)
प्रदेश सभा सदस्य तथा पदाधिकारी सेवा–सुविधा ऐन, २०७५ अनुसार सभामुखले एउटा मात्र सरकारी सवारी साधन पाउने व्यवस्था छ। तर, सभामुख बिष्ट दुईवटा गाडी प्रयोग गरिरहेका छन्, एकमा निजी नम्बर प्लेट राखिएको छ।
प्रदेश १–०४–००१ च ००४७ नम्बरको सरकारी गाडीमा रातो प्लेट जडान गरी पारिवारिक कामदेखि पार्टीका कार्यक्रमसम्म प्रयोग हुँदै आएको खुलेको छ। सो गाडी प्रायः बिस्टको घरमै राखिने गरेको स्रोत बताउँछ।
उता, भदौ २४ गतेको जेनजी (Gen-Z) आन्दोलनका क्रममा प्रदेशसभाका दर्जनौँ गाडी डढेपछि उच्च तहका कर्मचारीहरू सिटी सफारीमा यात्रा गर्न बाध्य छन्। त्यही बेला सभामुखले घरमा राखेको सरकारी गाडी भने फिर्ता नगरेको भन्दै आलोचना चुलिएको छ।
प्रश्न सोधिँदा सभामुख विष्टले ‘कुनै बेला अप्ठ्यारो पर्छ’ भनेर अतिरिक्त गाडी लिएको दाबी गरे। अन्य पदाधिकारीले पनि निजी नम्बर प्लेट राखेर सरकारी गाडी चलाउने गरेको तर्क समेत उनले अघि सारे।
यसअघि पनि प्रदेशसभाका प्रथम सभामुख प्रदीपकुमार भण्डारीले कार्यकाल सकिएपछि सरकारी गाडी निजी नम्बर प्लेटमा पारिवारिक प्रयोजनमा चलाएको घटना चर्चामा आएको थियो। बिष्टमाथिको विवादले त्यसैको पुनरावृत्ति भएको टिप्पणी विश्लेषकहरूले गरिरहेका छन्।
जेनजी आन्दोलनपछि राप्रपाले कडाइका साथ गरेको निर्णय आफैँले उल्लङ्घन गरेको भन्दै बिस्टलाई लक्षित असन्तोष बढ्दो छ।
प्रतिक्रिया