३ अर्ब खर्चिएको नयाँ मन्त्री निवास खण्डहरमा परिणत : अब कहाँ बस्छन् मन्त्री ?

मंगलबार, ३१ भदौ २०८२

काठमाडौं : मन्त्रीहरू सरेको एक वर्षमै भैंसेपाटीमा निर्माण भएको नयाँ मन्त्री निवास ध्वस्त भएको छ ।

सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका कर्मचारीहरू जेन–जी आन्दोलन क्रममा आगलागीबाट भएको क्षतिबारे प्रारम्भिक विवरण सङ्कलन गर्न सोमबार मन्त्री क्वाटर पुगेका थिए । सचिवालयका सूचना अधिकारी उमेश चौधरीका अनुसार नयाँ मन्त्री निवासमा मन्त्रीका लागि तयार गरिएका २७ वटा ब्लकमध्ये २६ वटा ब्लक पूर्ण रूपमा ध्वस्त भएका छन् । 

निवर्तमान रक्षामन्त्री मानवीर राई बसेको ब्लकमा भने क्षति भएको छैन । ‘२६ वटै ब्लकमा पुनर्निर्माण गर्नुपर्ने भएको छ । एउटा ब्लकमा भने अहिले पनि मन्त्री बस्न मिल्ने अवस्था छ । त्यहाँ क्षति भएको छैन,’ उनले भने । चौधरीका अनुसार भैंसेपाटीमा मन्त्रीका लागि २७ वटा ब्लक, एउटा साइड अफिस, एउटा जिम खाना, एउटा हेल्थ क्लब र तीन वटा सुरक्षाकर्मीका लागि कोठा निर्माण भएका छन् ।

२०८१ असार पहिलो साताबाटै केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारका मन्त्रीहरू भैंसेपाटी सर्न सुरु गरेका थिए । २०८१ भदौसम्म ओली सरकारका सबै मन्त्री भैंसीपाटी सरिसकेका थिए । तर मन्त्री सरेको एक वर्षमै नयाँ मन्त्री क्वाटर जेन–जी आन्दोलनबाट ध्वस्त भएको छ ।

सुरुमा २०८१ असार १ गते तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेल र वन तथा वातावरणमन्त्री नवलकिशोर साह भैंसेपाटी सरेका थिए । त्यसपछि क्रमशः अन्य मन्त्रीहरू पनि भैंसेपाटी सर्न सुरु गरेका थिए ।

भैंसेपाटीमा मन्त्री निवास बनाउन सरकारले २०७६ कात्तिकमा केसी–समानान्तर जेभी व्यावसायिक कम्पनीसँग सम्झौता गरेको थियो । दुई वर्षभित्रै काम सक्नेगरी सम्झौता भएको थियो । तर पटक पटक म्याद थप गर्नुपरेकाले निर्माण अवधि लम्बिएको थियो ।

पहिलो चरणको कामका लागि सरकारले एक अर्ब तीन करोड ४६ लाख ८३ हजार रुपैयाँ छुट्याएको थियो । त्यसपछि हरेक वर्ष सरकारले बजेट छुटाउँदै आएको थियो । हालसम्म सबै काम पूरा गर्न तीन अर्ब रुपैयाँ हाराहारी खर्च लागेको बुझिएको छ ।

भैंसेपाटीमा सङ्घीय सरकारका मन्त्री, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिसभाका उपसभामुखका लागि २७ वटा छुट्टाछुट्टै भवन निर्माण गरिएका छन् । भैंसैपाटीस्थित मन्त्री निवासको क्षेत्रफल ९६ रोपनी १० आना छ । हरेक भवनले करिब ७ आना क्षेत्रफल ओगटेका छन् ।

कस्तो थियो भैंसेपाटी मन्त्री क्वाटर ?

सहरी विकास मन्त्रालय मातहतको विशेष भवन आयोजनाका अनुसार नयाँ मन्त्री निवासमा जिम हल, पौडी पोखरी, सामुदायिक भवन, किराना पसल तथा सुरक्षा निकायका लागि बस्ने कोठासहित मन्त्री निवास बनाइएको थियो ।

प्रत्येक भवनको माथिल्लो तलामा योगका लागि कोठा बनाइएको थियो । त्यस्तै प्रत्येक भवनको भुइँतलामा आगन्तुक प्रतीक्षा कोठा, बैठक कोठा, निजी कोठा र स्वकीय सचिव बस्ने कोठा थिए ।

दोस्रो तलामा आवासका लागि कोठा छुट्टाइएको थियो । प्रत्येक भवनमा एउटा पूजा कोठा पनि बनाइएको थियो । मन्त्री निवास नेपाली कला, संस्कृति तथा परम्परा झल्कने गरी बनाइएको थियो । पुलचोकस्थित मन्त्री निवास साँघुरो भएकाले सरकारले भैंसेपाटीमा नयाँ निवास बनाएको हो । पुलचोकस्थित पुरानो मन्त्री क्वाटरमा सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राखिएको छ ।

अब कहाँ बस्छन् मन्त्री ?

अब बन्ने सरकारका मन्त्रीहरू कहाँ बस्छन् भन्नेमा अन्योल उत्पन्न भएको छ । यस विषयमा सहरी विकास मन्त्रालयका माथिल्लो तहका कर्मचारी समेत अनभिज्ञ छन् ।

अहिलेका अर्थमन्त्री रामेश्वर खनालले सरकारी क्वाटर र सुविधा नलिने घोषणा गरिसकेका छन् । कुलमान घिसिङ र ओमप्रकाश अर्याल हालसम्म निजी निवासमै बसेका छन् । अब थपिएका मन्त्रीहरू कहाँ बस्छन् भन्ने विषयमा सहरी विकास मन्त्रालयले केही निर्णय गरेको छैन । ‘नयाँ मन्त्रीका लागि आवासको व्यवस्था कसरी गर्ने भन्ने विषयमा अहिलेसम्म केही निर्णय भएको छैन,’ मन्त्रालयका प्रवक्ता नारायण मैनालीले भने ।

आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार