बिर्तामोडमा सडक निर्माणमा लापरवाही, स्थानीय आक्रोसित

बुधबार, ३२ असार २०८२

बिर्तामोड : बिर्तामोड नगरपालिका–४ स्थित मेघाबारीमा निर्माण सम्पन्न भएको पेवर्ससहितको नयाँ सडकमा निर्माण मापदण्ड पालना नगरिएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।

स्थानीय भरत राजवंशीले ठेक्कामा उल्लेख भएअनुसारको मापदण्ड नपुगेको पेवर्स बिछ्याइएको भन्दै सडकको गुणस्तर सम्बन्धी ल्याब परीक्षणको माग गरे । “प्राविधिक कुरा हामीलाई थाहा छैन, तर मापदण्डभन्दा कम भएको बुझेका छौं,” उनले भनेका छन्, “बिछ्याइएको पेवर्सको ल्याब परीक्षण गरेर मात्रै यसको यकिन हुन सक्छ।”

यस्तै अर्का स्थानीय विष्णुप्रसाद खरेलले सडकको दीर्घकालीन उपयोगिता सुनिश्चित गर्न गुणस्तरीय निर्माण हुनु पर्नेमा जोड दिएका छन् । स्थानीयहरूको भनाइअनुसार बिछ्याइएको पेवर्स एम ४० हुनुपर्ने भए पनि केही नमुना परीक्षण गर्दा एम ३५ वा ३६ मात्र भेटिएको दाबी गरिएको छ । 

यस सडक निर्माणको ठेक्का सघन सहरी तथा भवन निर्माण आयोजना झापामार्फत गरिएको हो । ठेक्का क्यापिटल टेक्नोलोजी मल्टी प्रपोज कन्स्ट्रक्सन, याङबरक–१, पाँचथरले पाएको हो । योजनापाटीअनुसार २०८२ वैशाख ४ गतेदेखि सुरु भएको निर्माण कार्य असार २० गते सम्पन्न भएको जनाइएको छ । 

१८ फिट चौडाइको दुवैतर्फ नालासहितको सडक निर्माणको कुल लागत (भ्याट र पिएस बाहेक) ६९ लाख ७० हजार ८१५ रुपैयाँ ३५ पैसा रहेको छ । कम्पनीका प्रतिनिधि दिनेश भट्टराईले भने निर्माण मापदण्डअनुसार नै भएको दाबी गरेका छन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार