झापा : नेपाल कम्युनिस्ट पार्टी (बिप्लव) झापाको बिस्तारित बैठक दमकस्थित होटल गोर्खा इनमा सम्पन्न भएको छ। बैठकले संगठन सुदृढीकरणदेखि राष्ट्रिय स्वाधीनता र जनजीविकासम्बन्धी मुद्दासम्म १० बुँदे कार्ययोजना पारित गरेको छ।
बैठकले झापाका सबै पालिकामा क्रियाशील संगठनलाई सुदृढ गर्ने, वडास्तरमा कोणसभा आयोजना गर्ने, बैंक–वित्तीय संस्थाले लिलामीमा पारेका घर–परिवारको संरक्षण गर्ने, निर्वाचनमा सक्रिय सहभागिता जनाउने र इमानदार व्यक्तिलाई उम्मेदवार अघि सार्ने निर्णय गरेको छ।
त्यसैगरी, युवा सुरक्षा दस्ता गठन गरेर स्थानीय संरचना बलियो बनाउने, उत्पादन–उद्योग–व्यापारमा सक्रियता बढाउने र राष्ट्रिय स्वाधीनता तथा जनजीविकाससँग सम्बन्धित मुद्दामा सम्झौताहीन कडा संघर्ष सञ्चालन गर्ने योजना बैठकले अघि सारेको छ।
बैठकले पारित कार्ययोजनासहित झापामा पार्टी गतिविधि तीव्र बनाउने र संघर्ष र संगठन दुवै मोर्चामा सक्रियतापूर्वक अघि बढ्ने संकेत दिएको छ।
प्रतिक्रिया