निषेधित क्षेत्र तोड्दै राजावादीहरू सडकमा, प्रहरीसँग दोहोरो झडप

आइतबार, १८ जेठ २०८२

काठमाडौं : राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै आइतबार राजधानीमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन दोहोरो झडपमा परिणत भएको छ। नक्शाल र बालुवाटार आसपासको निषेधित क्षेत्रतर्फ जब प्रदर्शनकारीहरू अघि बढ्न थाले, प्रहरीले रोक्न खोज्दा स्थिति तनावपूर्ण बनेको हो।

प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेली भएपछि केही स्थानमा झडप र लाठीचार्जको स्थिति सिर्जना भएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार केही प्रदर्शनकारीले प्रहरीले तोकेको सीमा अटेर गरी आक्रमणको प्रयास गर्दा प्रहरीले बल प्रयोग गरेको हो।

झडपका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित अन्य थुप्रै प्रदर्शनकारीहरू पक्राउ परेका छन्। यद्यपि, यकिन संख्या सार्वजनिक गरिएको छैन। घटनामा केही प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएको प्रारम्भिक जानकारी छ।

राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा चर्का नारासहित भएको यो प्रदर्शनमा ठूलो संख्यामा मानिसहरू सहभागी थिए। प्रहरीले क्षेत्रको सुरक्षालाई ध्यानमा राख्दै व्यापक फौज परिचालन गरेको छ भने यातायातसमेत प्रभावित भएको छ।

राप्रपा नेपालले आफ्ना नेता र कार्यकर्ताहरूको गिरफ्तारीको निन्दा गर्दै तत्काल रिहाइको माग गरेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार