पाटन : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अधिकार कसैको निगाह र बक्सिसले प्राप्त हुने विषय नभएको बताए ।
नेपाली कांग्रेस थारु विभागको आयोजनामा पार्टीको केन्द्रीय कार्यालयमा आयोजित ‘वर्तमान अवस्थामा थारुहरुको सामाजिक, आर्थिक, राजनीतिक अवस्था, अवसर र चुनौती’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले १२५ जातजाति र १२३ भाषाभाषी भएको देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र स्थापना गर्न सबैको योगदान रहेकाले थारु समुदायले प्राप्त गरेको अवसर त्यही योगदान अन्तर्गत रहेको बताए ।
त्यसैगरी पार्टीका सहमहामन्त्री भीष्मराज आङदम्बेले नेपाली कांग्रेसले थारु समुदायको पहिचानलाई स्थापित गर्न संवैधानिक व्यवस्थाका साथसाथै उनीहरुको अस्तित्व र स्वाभिमानलाई राजनीतिक, सामाजिक र सांस्कृतिक मौलिकतालाई जोगाएर राखेको बताए ।
पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठले थारु समुदायको हकहित र आर्थिक रुपमा चलायमान बनाउन थारु समुदायलाई सक्रिय बनाउनुपर्नेमा जोड दिए । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले थारुहरुको जनसङ्ख्या अनुसार राजनीतिक प्रतिनिधित्वमा जोड दिनुपर्ने उल्लेख गरे । उनले क्रियाशील सदस्यतामा भन्दा राजनीतिक नेतृत्वमा स्थापित गराउन ध्यान दिनुपर्ने धारणा राखे ।
थारु संघको महाधिवेशन निर्देशक समितिका संयोजक एवं पार्टीका केन्द्रीय सदस्य उदयशम्शेर राणाले नेपाली कांग्रेसले जति थारु समुदायलाई राजनीतिक प्रतिनिधित्व, सम्मान, पहुँच र अवसर अरु पार्टीले दिन नसकेको धारणा राखे ।
थारु विभागका संयोजक योगेन्द्र थारूले अस्तित्व र पहिचानका लागि लडेको समुदायले निरन्तर प्रयासबाट अधिकार प्राप्त गर्न सक्ने भएकाले निरन्तर क्रियाशील हुन आग्रह गरेका छन्् ।
प्रतिक्रिया