ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढीमा वृक्षारोपण, १८ हजार विरुवा रोप्ने लक्ष्य

सोमबार, १९ जेठ २०८२

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसर पारेर देशभर वृक्षारोपण अभियान सुरु गरेको छ। सोही अभियान अन्तर्गत बैंकले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण गरेको हो।

टोखा नगरपालिकामा बैंकले स्थानीय विभिन्न विद्यालय परिसरमा १,००० वटा फलफुलका विरुवा रोपेको छ। उक्त कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा स्थानीयको उल्लेखनीय उपस्थिति थियो।

त्यस्तै, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडामा १,५०० वटा बाँसका विरुवाहरू रोपिएको छ। कार्यक्रममा खोटाङका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख, नेपाली सेना तथा प्रहरीका प्रतिनिधिहरू र स्थानीय समुदायको सक्रिय सहभागिता थियो।

बैंकले आर्थिक वर्ष २०८१/८२ मा कुल १८ हजार विरुवा रोप्ने लक्ष्य राखेको छ। यस अभियानमार्फत सातवटै प्रदेशका विभिन्न स्थानमा वृक्षारोपण भइरहेको बैंकले जनाएको छ। बैंकले यो अभियानले जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पुर्‍याउनुका साथै स्थानीय स्तरमा आयआर्जनमा समेत मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

ग्लोबल आइएमई बैंक हाल देशको सबै ७७ जिल्लामा शाखा विस्तार गरी ३५४ शाखा, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा विदेशी प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

बैंकले ‘ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४’ र ‘युरो मनी अवार्ड फर एक्सेलेन्स २०२४’ प्राप्त गरी नेपालको उत्कृष्ट बैंकको मान्यता समेत प्राप्त गरिसकेको छ। साथै, बैंकले रेमिट्यान्स सेवा अन्तर्गत अमेरिका, युके, अष्ट्रेलिया, जापान, खाडी मुलुक लगायतका देशहरूबाट पैसा पठाउने तथा प्राप्त गर्ने सुविधा पनि प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार