ट्रक लेदोमा फसेपछि मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध

शनिबार, १७ साउन २०८२
तस्बिर : फाइल

सिन्धुली : लगातारको वर्षाले सिन्धुली खण्डको मध्यपहाडी लोकमार्ग आज बिहानैदेखि पूर्णरूपमा अवरुद्ध बनेको छ। गोलञ्जोर गाउँपालिका–६ स्थित अकरेभिरमा लेदो र पहिरो खसेपछि लोकमार्ग अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन अलपत्र परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको ११ वटा भैँसी लोड गरिएको ना७ख ७८९० नम्बरको ट्रक लेदोमा फसेपछि सडकमा ठुलो जाम परेको छ।

ट्रक निकाल्नका लागि प्रयास भइरहे पनि निरन्तर वर्षाका कारण काममा कठिनाइ भइरहेको प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो।

सडक अवरुद्ध भएपछि ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुरलगायत पूर्वी जिल्लाबाट राजधानीतर्फ गइरहेका सवारीसाधन खुर्कोटमा रोकिएका छन्। गोलञ्जोरकै बलेनीमा सडक माथिबाट खसेको अर्को पहिरोले समेत लोकमार्ग थप अवरुद्ध बनाएको छ।

सडक खुलाउन डोजर परिचालनसहित स्थानीय र सुरक्षाकर्मी खटिइरहेका छन्। यद्यपि, लगातारको झरीका कारण पहिरो पन्छाउने कार्यमा ढिलाइ हुन सक्ने प्रहरीले जनाएको छ।

प्रभावित यात्रुहरूलाई सुरक्षाका उपाय अपनाउन र स्थानीय प्रशासनले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरिएको छ। सिन्धुलीमा गए रातिदेखि झनै तीव्र गतिमा वर्षा भइरहेको छ, जसले थप पहिरोको जोखिम पनि बढाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार