कोदो खेतीमा आकर्षण घट्दै, किसान वैकल्पिक बालीतर्फ आकर्षित

शनिबार, १७ साउन २०८२

भोजपुर : बहुउपयोगी अन्न कोदो खेतीबाट राम्रो आम्दानी नहुने भएपछि भोजपुरका किसान यसको खेतीप्रति विमुख हुँदै गएका छन्।

नेपालको चौथो मुख्य बालीका रूपमा चिनिने कोदो परम्परागत रूपमा खेतबारीमा लगाइए पनि अहिले अधिकांश किसानले केवल घरायसी प्रयोजनका लागि मात्र यसको खेती गरिरहेका छन्।

टेम्केमैयुङ–६ का किसान राजेन्द्र राईले भने, “गाउँघरमा व्यावसायिक रूपमा कोदो खेती गर्ने चलन छैन।

आम्दानी राम्रो नहुने र खेती गर्न झन्झटिलो हुने भएकाले धेरैले कोदो रोप्न छाडेका छन्।” अर्का कृषक धनबहादुर प्रधानका अनुसार विगतमा धेरै किसानले कोदो खेती गरे पनि अहिले रुचि घट्दै गएको छ।

“पछिल्लो समय कोदो उत्पादन पनि घटेको छ र यसको प्रयोग प्रायः जाँड, रक्सी बनाउनमा सीमित हुँदै गएको छ,” प्रधानले बताए।

कोदो स्थानीय बजारमा प्रतिपाथी रु १५०–१६० मा बिक्री हुन्छ। तर, ढिँडो, रोटीजस्ता परिकार बनाएर खाने चलन घटेकाले कोदोको माग पनि सीमित समयमा मात्र देखिन्छ। दसैँ, तिहार र किरात समुदायका उँधौली–उभौली चाडमा मात्र यसको माग उल्लेख्य हुने प्रधानले बताए।

टेम्केमैयुङ–६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालका अनुसार, किसान अब परम्परागत बालीभन्दा अन्य वैकल्पिक बालीतर्फ आकर्षित छन्। “दश–बाह्र वर्ष अघिसम्म प्रशस्त कोदो खेती हुन्थ्यो, तर अहिले धेरैले विकल्प रोजे,” उनले भने।

कोदोबाट ढिँडो, रोटी, सातु, लिटो, खोले जस्ता परिकार बनाइन्छ। स्थानीयहरूका अनुसार कोदोको खोले चिसोबाट हुने रोगको घरेलु औषधि पनि हो।

यस्ता फाइदासँगै किसानलाई बजार मूल्य, आम्दानी र श्रमको हिसाबले कोदो खेती प्रभावकारी नलागेपछि यसको खेतीमा निरन्तर गिरावट देखिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ। केन्द्रका अनुसार जिल्लामा करिब ६ हजार हेक्टर जमिन कोदो खेतीका लागि उपयुक्त भए पनि त्यसको उपयोग घट्दो छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार