धरान : निजी प्रयोजनका सवारीसाधनलाई भाडाका गाडीसरह प्रयोग गर्न दिने गण्डकी प्रदेश सरकारको ‘राइड सेयरिङ’सम्बन्धी नियमावली खारेजीको मागसहित आज बिहानदेखि धरानमा सार्वजनिक सवारीसाधन पूर्ण रूपमा ठप्प रहेका छन ।
देशभरको संयुक्त आन्दोलनको समर्थनमा धरानमा पनि बिहानैदेखि साना तथा ठूला कालो प्लेटका यात्रुवाहक गाडी सञ्चालनमा आएका छैनन्। केही ट्याम्पो र दुईपांग्रे सवारीहरू मात्रै सञ्चालनमा छन्। आन्दोलन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसहित सात सङ्गठनको अगुवाइमा सुरु भएको हो ।
कोशी प्रदेश नेपाल यातायात व्यवसायी संयोजक सरोज श्रेष्ठका अनुसार धरानमा मात्र हैन कोशी प्रदेशका इटहरीलगायत विभिन्न क्षेत्र बन्द गरिएको छ। केही सञ्चालनमा रहेका ट्याम्पोलाई पनि ट्याम्पो सङ्घसँग सहकार्य गरेर बन्द गरिने तयारी गरिएको उनले जानकारी दिए।
श्रेष्ठले ‘राइड सेयरिङ’ नियमावलीप्रति पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले बाध्य भएर बन्द सुरु गरिएको उनको भनाई छ ।
केन्द्रीय सङ्घर्ष समितिले आज जारी गरेको विज्ञप्तिमा बन्दका कारण उत्पन्न हुने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारको हुने उल्लेख गरिएको छ। साथै, आम उपभोक्ता, यात्रु, मजदुर र कर्मचारीहरूलाई आन्दोलनमा ऐक्यबद्धता जनाउन अपिल समेत गरिएको छ ।
श्रेष्ठले भने, ‘‘यदि सरकार सकारात्मक वार्तामा नआए आन्दोलन अझ चर्किनेछ।’’ तथापि सरकारसँग संवादको ढोका भने खुला रहेको भन्दै आवश्यक पहल भए बन्द स्थगित हुन सक्ने उनले बताए ।
प्रतिक्रिया