हाइब्रिडको बिउको दबाबमा रैथाने कोदो सङ्कटमा : आयात ७६ करोड पुग्यो

शनिबार, १७ साउन २०८२

काठमाडौँ : कोदो नेपालको धान, मकै र गहुँपछिको चौथो बाली हो । कोदोमा प्रोटिन, फाइबर, एन्टिअक्सिडेन्ट प्रशस्त हुहुकासाथै नसर्ने रोगहरूको जोखिम घटाउने क्षमता समेत हुन्छ । त्यसैले पनि कोदोलाई बहुगुणी अन्नका रूपमा पनि चिनिन्छ । ‘गरिबको खाना’ का रूपमा मात्र सीमित राख्दा कोदोको उत्पादन उपेक्षामा परेको थियो ।

तर केही समय यता कोदो उच्च प्राथमिकतामा पर्न थालेको छ । विभिन्न होटलहरुमा समेत कोदोको ढिँडो, मःम, पिज्जा, रोटी जस्ता विभिन्न परिकारहरू बनाउन थालिएको छ ।  त्यति मात्र होइन,सरकारले कोदोको प्रवर्द्धनको लागि यस वर्षदेखि साउन १६ लाई राष्ट्रिय कोदो दिवस घोषणा गरी विभिन्न कार्यक्रमहरू आयोजना गर्न सुरु गरेको छ । 

शुक्रवार सरकारले ‘कोदोजन्य परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी प्रथम राष्ट्रिय कोदो दिवस मनायो । 

नेपाल न्यूज बैङ्कसँगको कुराकानीमा नेपाल उद्योग वाणिज्य महासङ्घका कृषि उद्यम केन्द्रका सभापति र कोदो तथा फापर सङ्घका अध्यक्ष डिबी बस्नेतले अहिले नेपालमा २० प्रजातिका कोदोहरू उत्पादन भइरहेको जानकारी दिए । जसमध्ये कतिपय लोप हुँदै गइरहेको बताउँदै उनले अहिले हाइब्रिडको बिउहरूले प्राथमिकता पाउँदै गएको बताए । 

उनले भने,‘अहिले हेर्दा नेपालमा पाइने कोदो झन्डै २० प्रजातिका कोदोहरू छन् । तर ति कतिपय लोप हुने अवस्थामा पनि छन् । परम्परागत रैथाने बालीहरू बिस्तारै लोप हुँदै गइरहेको छन् । हाइब्रिडको बिउहरूले प्राथमिकता पाउँदै गरेका छन् ।’ 

कोदोको महत्त्व सरकारले बुझेर साउन १६ लाई कोदो दिवस मनाउने घोषणा गर्नु एकदमै सान्दर्भिक रहेको उनी बताउँछन् । ‘कोदोको महत्त्व सरकारले बुझेर नै साउन १६ लाई कोदो दिवस मनाउने भनेर घोषणा गरेको छ । पौष्टिकतामा कोदोको जुन खालको महत्त्व छ त्यसलाई अहिले सरकारले पनि महसुस गर्‍यो ।’

कोदो खेतीलाई एकदमै सान्दर्भिक बनाउन आवश्यक रहेको बताउँदै उनले पहाडतिर मानिसको बस्ती विस्तार पातलो हुँदै गएका कारणले उत्पादनमा अप्ठ्यारो भएको सुनाए ।  ‘कोदो खेतीलाई एकदमै सान्दर्भिक बनाउनुपर्छ । केही पहाडी क्षेत्रमा हुने कोदो बस्ती विस्तार पातलो हुँदै गएका कारणले अलि अप्ठ्यारो भएको छ । तर कोदो खेतीलाई अगाडि बढाउन सरकारसँग मिलेर हामी काम गर्छौँ ।’ 

नेपालमा कोदोको बजारीकरणमा कुनै समस्या नरहेको दाबी गर्दै उनले उच्च मूल्य प्राप्त गर्ने खालको उत्पादनमा जुट्ने प्रतिबद्धता जनाए ।  नेपाली उत्पादनले नेपाली बजारमा नै नपुग्दा आयात गर्नुपर्ने बाध्यता रहेकाले नेपालको उत्पादनले नै पुग्ने गरी अगाडि बढ्नुपर्ने उनको भनाइ छ । 

उनले भने, ‘तर बजारीकरणको त्यति धेरै समस्या छैन । बाहिरबाट पनि आयात भइरहेको छ । यसलाई उच्च मूल्य प्राप्त गर्ने खालको उत्पादन सुरु हामी गर्छौँ । बिस्कुट, केक जस्ता खाद्यवस्तु उत्पादन भइरहेको छ । कोदोको उत्पादन बढाउन रासायनिक मल प्रयोग नगरेको राम्रो हो ।

नेपाली उत्पादनले नेपाली बजारमा नै पुगेको छैन । यो वर्ष पनि झन्डै ७२ करोड जतिको कोदो बाहिरबाट नेपाल आइसकेको छ । तर केही कम्पनीहरूले बाहिर पनि पठाइरहनु भएको छ । नेपालको उत्पादनले पुग्ने गरी हामी अगाडि जानुपर्छ ।’  त्यस्तै, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, प्रमुख केशव देवकोटाले स्वास्थ्यमा कोदोको परिकारको प्रयोग एकदमै महत्त्वपूर्ण रहेको प्रस्ट पारे । 

उनले भने,‘कोदोमा पौष्टिक तत्त्व बढी हुन्छ । प्रोटिन धेरै पाइन्छ चामलको तुलनामा यो धेरै उपयोगी छ । क्याल्सियम, पोटासियम पनि एकदमै बढी रूपमा पाइन्छ ।’ उनले भने,‘धान लगाउने सिजनमा नै कोदोको खेती लगाउन सकिन्छ ।

विशेष गरेर पाखो बारीहरूमा सहजै लगाउन सकिन्छ । धेरै पानी पनि आवश्यक पर्दैन । मेहनत पनि धेरै गर्न पर्दैन । अहिले मधेसमा पानी नपर्नाले धान रोपाइँ सोचे जति हुन सकेको छैन । यस्तो अवस्थामा कोदो रोप्न सक्छौँ ।’

‘नेपालमा पहाडी क्षेत्रहरू धेरै भएकाले पाखोवारिलाई सदुपयोग गर्न सकिन्छ । जलवायुमैत्री बालीको रूपमा विस्तार गर्न सक्छौँ । हिजोआज सहरका मानिसहरूले कोदोलाई खोजी खोजी खान थालेका छन् । त्यसैले यसलाई विविधीकरण गर्ने, परिकारहरू बनाउने कामहरू भइरहेका छन् । होम स्टेहरुमा झनै लोकप्रिय भएको छ,’ उनको भनाइ छ । 

सामान्य मेहनतले पनि कोदो उत्पादन हुने भएकाले कोदो उपयोगी र सजिलो बाली रहेको विज्ञहरूको भनाइ छ । तर अब कोदोको विकास र प्रवर्द्धन गर्ने खालका नीतिहरू ल्याउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

कोदो अहिले २ लाख २५ हजार हेक्टर जमिनमा खेती भइरहेकाले आयात घटाएर निर्यात बढाउनुपर्ने सरोकारवालाहरूको भनाइ छ ।

यतिबेला नेपालमा कोदो ठुलो मात्रामा आयात र न्यून निर्यातबाट गुज्रिएको अवस्थामा रहेको विज्ञहरूको भनाइ छ ।  कृषि तथ्याङ्क आर्थिक वर्ष २०८०/८१ अनुसार दुई लाख २४ हजार ८ सय ३५ हेक्टर क्षेत्रफलमा कोदो खेती भएको छ । भने तीन लाख सात सय मेट्रिक टन कोदो उत्पादन भएको छ । 

७६ करोड ६३ लाख रुपैयाँ बराबरको १८,३१६ मेट्रिक टन कोदोजन्य उत्पादन आयात भएको छ भने ९४ लाख बराबरको ७० मेट्रिक टन मात्र निर्यात भएको छ ।

यसरी सरकारले कोदोलाई प्राथमिकतामा राख्ने यो पहलले उत्पादन बढाई आयातमा कमी हुने सम्भावना देखिएको छ ।  कोदोको उत्पादन वृद्धिको लागि उत्पादन र विविधीकरणमा सरकारी तथा निजी क्षेत्रको सहकार्य अपरिहार्य देखिएको छ । 

प्रमिला कार्की

 

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार