रामेछाप : रामेछाप सदरमुकाम मन्थलीलाई काठमाडौँ र तीन गाउँपालिकासँग जोड्ने वैकल्पिक सडक अवरुद्ध भएको छ ।
भटौली खोलाले पक्की पुलको पकरबासपट्टि कटान गरेपछि मन्थली–पकरबास सडक शनिवार बिहानदेखि सवारी आवागमनका लागि बन्द गरिएको हो ।
खाँडादेवी गाउँपालिका–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार खोलाको तीव्र बहावले पुलको पकरबासतर्फको भागमा सडक भासिएर ठुला सवारी चल्न नसक्ने स्थिति आएको छ । ‘दुई पाङ्ग्रे सवारी मात्र चल्न सक्ने अवस्था छ, ठुला गाडी रोकिएका छन्,’ पौडेलले बताए ।
पुल मर्मतका लागि प्रयास सुरु गरिएको भए पनि शुक्रवार रातिको बाढीले अस्थायी संरचना बगाएको र तत्काल मर्मत नगरे जोखिम बढ्ने वडाध्यक्ष पौडेलले चेतावनी दिए ।
उनका अनुसार पूर्व सूचना दिइए पनि समयमा मर्मत कार्य नहुँदा क्षति झन् बढेको हो । भटौली खोलाको यो पुल रामेछापको खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकामा जान तथा काठमाडौँ आउजाउ गर्ने वैकल्पिक मार्गमा पर्छ ।
गत वर्ष खुर्कोटको पुल बगाउँदा दोलखा–रामेछापका गाडी यही बाटो प्रयोग गर्न बाध्य भएका थिए । अहिले पनि खुर्कोटतर्फ ठुला सवारी तर्न नसक्ने भएकाले भटौली पुल प्रमुख विकल्पको रूपमा प्रयोग हुँदै आएको छ ।
प्रतिक्रिया