गुण्डा चक्रे मिलनसहित १९ जना विरुद्ध मुद्दा दर्ता

शनिबार, १७ साउन २०८२

काठमाडौं । प्रहरीले आपराधिक क्रियाकलापविरुद्धको अभियान  नरोक्ने स्पष्ट पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले गुण्डाहरूको गतिविधि निस्तेज पार्न काठमाडौंभरि नै अपरेशन जारी रहेको बताए ।

“गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन्, हाम्रो अपरेशन जारी छ, काठमाडौंमा यस्ता अवाञ्छित गतिविधि गरेकाहरूको नामावली सङ्कलन भइसकेको छ, खोजीखोजी कारबाहीको दायरामा ल्याइँदै छ”, अधिकारीले भने । उक्त अभियान अन्तर्गत प्रहरीले शुक्रबार काठमाडौंको महराजगञ्जस्थित होटेल साम्बालाबाट ४७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका ४७ जनामध्ये चक्रे मिलन भनिने मिलन गुरुङसहित १९ जनामाथि सार्वजनिक हितविपरीत गतिविधि गरेको कसुरमा मुद्दा दर्ता गरी सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए ।

अन्य बाँकी २८ जनालाई भने प्रहरीमा हाजिर हुने गरी छाडिएको र उनीहरूमाथि पनि अनुसन्धान भने जारी रहेको उनले बताए । अधिकारीले भने, “१९ जनाविरुद्ध अन्य उजुरीहरु आउनसक्ने भएकाले जो कोहीले पनि उजुरी दिन सक्नुहुन्छ, उनीहरू अन्य केके अपराधमा संलग्न छन् भनेर पनि खोजी भइरहेको छ । छाडिएकाको हकमा पनि अनुसन्धान जारी नै छ ।” 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा काठमाडौंमा आपराधिक गतिविधिविरुद्धको अपरेशन जारी  रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार