काठमाडौँ । नेता भीम रावलले एमालेलाई सही ठाउँमा ल्याउन खोज्दा ‘तानाशाही शक्ति’ लगाएर आफूलाई निकालेको आरोप लगाएका छन् ।
बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमाले सिद्धान्तबाट च्यूत भएर विधि, प्रणाली, सिद्धान्तमा नरहेको र सिद्धान्त ल्याउन खोज्दा आफूलाई निकालेको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘मैँले विद्रोह गरेको होइन, सिद्धान्तबाट च्यूत भएर उनीहरूले नै विद्रोह गरेका हुन् । मैँले ठिक ठाउँमा आऊ भनेकाले निरङ्कुश र तानाशाही शक्ति लगाएर निकालियो । मैले जुन विधि, प्रणाली, सिद्धान्तमा पार्टी हिँडेनन् भनेको थिए । त्यसको पुष्टि भएको छ ।’
उनले नेपालका सबै राजनीतिक दलहरू राष्ट्रिय हित र मर्यादामा नरहेकाले सबै पार्टीभित्र भाडभैंलो भएको बताए ।
‘म टिप्पणी गर्दिन । तर नेपालका सबै राजनीतिक दलहरू राष्ट्रिय हित र मर्यादामा छैनन् । पार्टीहरूले घोषित नीति, विधि केही पनि नमानेकाले यत्रतत्र सर्वत्र भाँडभैलो त्यसकै कारण भएको हो,’उनले भने ।
प्रतिक्रिया