सुनसरीको दुहबीमा दुर्घटना हुँदा १८ वर्षीय युवकको मृत्यु , २ जना गम्भीर घाइते

शनिबार, १७ साउन २०८२

सुनसरी । सुनसरीको दुहबीमा २ वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रवार रातिको दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् ।

दुहबी–इनरुवा सडक खण्डअन्तर्गत दुहबी नगरपालिका–२ पचिरामा राति ९ः१० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुहबीबाट इनरुवातिर जाँदै गरेको को ६ प ५२४१ नम्बरको मोटरसाइकल र इनरुवाबाट दुहबीतिर आउँदै गरेको को ३२ प १५०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो । 

दुर्घटनामा १५०४ नम्बरको मोटरसाइकलका चालक सुनसरीको गढी गाउँपालिका–२ का १८ वर्षीय नजामुदिन मियाँको मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार गम्भीर घाइते उनको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा मृत्यु भएको हो । 

शवलाई पोस्टमार्टमका लागि विराटनगरकै कोशी अस्पताल लगिएको छ । त्यस्तै, दुर्घटनामा परेर उक्त  मोटरसाइकलको पछाडि सवार गढी–२ का १७ वर्षीय सबाद आलम घाइते भएका छन् । उनको विराट नर्सिङमै उपचार भइरहेको छ । 

दुर्घटनामा ५२४१ नम्बरको मोटरसाइकलका चालक गढी गाउँपालिका–२ का अन्दाजी २२ वर्षीय विश्वजित चौधरी घाइते भएका छन् । उनको विराटमै उपचार भइरहेको छ । पछाडि सवार महेश चौधरी फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार