शिक्षक बन्ने सपना बोकेका खगेन्द्रको अन्तिम यात्रा : इटहरीको सडकमा टुट्यो भोजपुरको आशा

सोमबार, १९ जेठ २०८२

इटहरी : इटहरीको एक साँझ, एक सपना चिरफार भएर छताछुल्ल भयो,शिक्षक बन्ने दृढ अठोट बोकेका खगेन्द्र चौलागाईंको जीवन, एक भयानक सडक दुर्घटनामा अकालमै अन्त्य भयो।

भोजपुरको टेम्केमैयुम गाउँपालिका–३ का यी ३३ बर्षिय युवक खगेन्द्र चौलागाईं,अन्नपूर्ण माविमा प्रावि तहका शिक्षक थिए। तर उनको मन भने निमावि शिक्षक बन्ने सपना सजाउँदै थियो। त्यही सपना साकार पार्न उनी केही दिनअघि मात्र इटहरी झरेका थिए।

शनिवार बिहान खगेन्द्रले इटहरीस्थित ज्योति माविमा शिक्षा सेवा आयोगअन्तर्गतको निमावि तहको परीक्षा दिए। परीक्षा राम्रो भएको थियो, अनुहारमा उत्साहको चमक थियो। दिदी र भिनाजुसँग आत्मविश्वासपूर्वक उनले भने, “अब म पास हुन्छु।” त्यो एउटा पवित्र आकाङ्क्षा थियो, जुन उनको आँखामा शिक्षक बन्ने जुनझैँ टल्किरहेको थियो। तर, त्यो जुन अस्ताउने रहेछ,अचानक, अकल्पनीय र असह्य ढङ्गले।

त्यही साँझ,उनी साइँली दिदी लक्ष्मी पराजुलीसँग मोटरसाइकलमा इटहरी–२ स्थित ठुली दिदीको घरबाट फर्किँदै थिए। तरहरास्थित दंगाल टोल नजिकै यात्रुवाहक बसले उनीहरू सवार मोटरसाइकललाई ठक्कर दियो। झापाबाट धरानतर्फ आइरहेको प्रदेश २–००२ ख ०२९९ नम्बरको यात्रुवाहक बसले उनीहरू सवार प्रदेश १–०२–०१४ प ६७७५ नम्बरको पल्सर मोटरसाइकललाई इटहरी २० तरहराको होम्समा ठक्कर दिएको थियो।

tarahara accident

एक क्षणमै सबथोक बदलियो—शब्दहरू मौन भए, सपना चकनाचुर। गम्भीर घाइते दुबैलाई विराट नर्सिङ होम पुर्‍याइयो, तर खगेन्द्रको टाउकोमा लागेको गहिरो चोटले आपत्कालीन शल्यक्रियासमेत सफल हुन सकेन। रातको निस्तब्धतामै उनले जीवनको अन्तिम सास फेरे।

भिनाजु धिरेन्द्र पराजुलीको स्वर अझै काँप्छ, “शिक्षक बन्ने सपना बोकेको त्यो अनुहार अब कहिल्यै फर्किने छैन। यदि थाहा हुन्थ्यो दुर्घटना हुन्छ, भने म रोक्थेँ। तर जीवन यति निर्दयी बन्न सक्ला भन्ने कल्पनासमेत थिएन।”

खगेन्द्र न केवल एक शिक्षण पेसाप्रति समर्पित व्यक्ति थिए, उनी आमा प्रति पनि समर्पित थिए—उनी आमाको मुख्य हेरचाहकर्ता थिए। उनका सहकर्मी, विद्यार्थी, गाउँले र परिवारजन आज स्तब्ध छन्। एउटा सुन्दर यात्रा सुरु हुँदै थियो, तर नियतिको निर्ममता यस्तो ढोकाबाट आयो, जहाँ बाटो थियो नै छैन।

लक्ष्मी पराजुलीको विराट नर्सिङ होममै उपचार जारी छ, चिकित्सकका अनुसार उनी खतरा मुक्त अवस्थामा छिन्। तर उनका आँखामा त्यो रातको भय, त्यो आवाज र त्यो अन्तिम मुस्कान सदाको लागि बिलाएको छ।

शनिवार बिहान मात्रै स्तन क्यान्सरको उपचार गराएर भरतपुर अस्पतालबाट फर्किएकी आफ्नी ठुली दिदीलाई भेट्न खगेन्द्र र लक्ष्मी इटहरी गएका थिए। त्यो भेट अन्तिम बन्यो।

फर्कने बाटोमा दुर्घटना भयो, र एउटा सपना, एउटा जीवन, एउटा उज्यालो भविष्य, एकै साथ हरायो। 

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार