भिजिट भिसा प्रकरणमा विपक्षी र सरकार आमने सामने, संसद्मा द्वन्द्व बढ्ने सङ्केत

मंगलबार, २० जेठ २०८२

काठमाडौँ : भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरू आज संसद्मा आक्रामक रूपमा प्रस्तुत हुने तयारी गरेका छन् ।

आज बिहान ११ बजे बस्न लागेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफल प्रारम्भ हुने कार्यतालिका रहेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आजको संसद्को बैठक सुरु हुने बताएपछि सरकार जबरजस्ती संसद् सञ्चालन गर्ने तयारीमा रहेको सङ्केत पाएर विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा थप सशक्त रूपमा संसद्मा प्रस्तुत हुने रणनीति बनाइरहेका छन् ।

सरकार र विपक्षीको रणनीतिले संसद्मा थप द्वन्द्व बढ्ने सङ्केत देखिएको छ । यस क्रममा आज संसद् बैठकअघि विपक्षी दलहरूको बैठक समेत बस्दै छ ।प्रधानमन्त्री ओलीले सोमबार एमालेको संसदीय दलको बैठकमा गृहमन्त्रीको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्र विपरीत भएको बताउँदै मङ्गलवार देखी संसद्का नियमित गतिविधि सञ्चालन हुने दाबी गरेका थिए ।

उनले भनेका थिए- 'नियमित संसद् चलाऊ भनेर मैले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’जी कुरा गर्न खोजे तर उहाँ जानीजानी सम्पर्कमा आउनुभएन । वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरू हुनुहुन्छ होला । यस्तो व्यवहार सधैँ चल्दैन । संसद् यस्ता नचाइने कुरामा सधैँ बन्द हुँदैन ।

यस्ता कुरामा संसद् अवरुद्ध हुँदैन । माननीयज्यूहरू तयार भएर बस्नुस् । सदन चल्छ ।’सोमबार भएको शीर्ष नेताहरूको बैठकमा समेत यस विषयमा छलफल भएपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीको राजीनामा आफुहरुको बटमलाइन भएको स्पष्ट गरेपछि संसद्को अवरोध खुलाउने सरकारको प्रयास असफल भएको थियो ।

शीर्ष नेताको बैठक बारे जानकारी दिँदै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् सुचारु हुन नदिने पार्टीको अडानबारे शीर्ष बैठकमा जानकारी गराएको बताएका थिए ।

उनले भनेका थिए- ‘हामीले जुन विषयवस्तु राखेका छौँ । त्यो यथावत् नै छ । सुशासनलाई केन्द्रित गरेर अघि राख्नुपर्छ भनेका छौँ । जुन कुरा हामीले सदनमा राखेका छौँ । त्यही विषयवस्तु हो ।

भिजिट भिसामा जसरी गडबड भएको छ, त्यसलाई गृहमन्त्रीज्यूले हल गर्नका लागि अनुसन्धान गर्न मार्ग प्रशस्त गर्नुपर्छ भनेर भनेका छौँ ।विपक्षी दलहरूले जेठ ७ गतेदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अवरोध गरिरहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार