काठमाडौँ । संसद्को अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेको पहलमा बसेको बैठक सकिएको छ ।बैठकमा विपक्षी दलहरूले आफ्नो अडान नछोडेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न आयोग बनाउनुपर्ने मागमा आफ्नो अडान नछोडेपछि संसद् बैठक बस्ने बारे अनिश्चितता बढेको छ ।
आज अपराह्न १ बजेदेखि बैठक बस्ने भनिएको भए पनि विपक्षी दलहरूले आफ्नो अडान नछोडेपछि बैठक अनिश्चित बनेको हो ।यसअघि गृहमन्त्री रमेश लेखकको राजीनामाको मागलाई जोडदार रूपमा उठाउँदै आएका विपक्षी दलहरूले मङ्गलवारदेखि भिजिट भिसा प्रकरणको छानबिनमा जोड दिएका छन् ।
सत्तापक्ष भने अहिलेसम्म छानबिन समिति वा आयोग गठन गर्न तयार देखिएको छैन । सत्ता पक्षले अख्तियारले छानबिन गरिरहेकाले अहिले कुनै अन्य छानबिन समितिको आवश्यकता नरहेको बताउँदै आएको छ ।
प्रतिक्रिया