इटहरी : इटहरी उपमहानगरमा बजारमा बिक्री वितरण भइरहेको धेरैजसो आँपमा अत्यधिक मात्रामा विषादी प्रयोग गरिएको पुष्टि भएको छ।
उपमहानगरको खाद्य अनुसन्धान शाखाले हालै गरिएको अनुगमनमा ३ हजार केजी आँप विषादीयुक्त पाइएको र ती सबै नष्ट गरिएको जानकारी दिएको छ।
अनुगमनको क्रममा व्यवसायीहरूले आँप छिटो पकाउन प्रयोग गर्ने विषादी मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक रहेको पाइएको हो।
इटहरी वडा नं. ६ मा रहेका फलफूल गोदामहरूमा उपमहानगरपालिकाको खाद्य अनुसन्धान टोलीले गरेको अनुगमनमा ती आँपमा स्वास्थ्यका लागि हानिकारक रसायन प्रयोग गरिएको भेटिएपछि तत्काल जफत गरी नष्ट गरिएको हो।
उपमहानगरपालिकाका बजार अनुगमन शाखा प्रमुख नोवेल भट्टराईका अनुसार ती आँपहरूमा 'एसिटिलीन ग्यास' प्रयोग गरिएको पाइयो, जुन ग्यास प्रयोग गरी कृत्रिम रूपमा फलफूल पकाउन नपाइने स्पष्ट नियम रहेको छ ।
खाद्य नियमावली २०२९ को नियम १९ (घ) अनुसार एसिटिलीन ग्यासको प्रयोग गरी कृत्रिम रूपमा फलफूल पकाउन, भण्डारण गर्न वा विक्री वितरण गर्न निषेध गरिएको छ।
अनुगमनका क्रममा 'न्यू राइजिङ फुड सप्लायर्स इटहरी' को गोदाममा ९६ कार्टुन आँप र 'न्यू सुनसरी फुड सेन्टर' को गोदाममा १०६ क्यारेट आँप फेला परेको थियो। यी सबै आँपको तौल ३ हजार २ सय ९० केजी रहेको उपमहानगरपालिकाले जनाएको छ।
उक्त आँप नेपालको पश्चिमी भागबाट ल्याएको सञ्चालकहरूले दाबी गरेका थिए। तर, अनुगमन टोलीले ती आँपहरू भारतीय पत्रिकामा र्याप गरिएको अवस्थामा भेटेको थियो ।
इटहरी उपमहानगरपालिकाले बजार अनुगमन ऐन २०७९ र आर्थिक ऐन २०८१ अनुसार दुवै व्यवसायीक फर्मलाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरेको प्रमुख भट्टराईले बताए ।
इटहरी उपमहानगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिँदै आएको छ । उपभोक्ता तथा सर्वसाधारणले गुनासो गरेमा त्यस्तो गुनासोलाई सम्बोधन गर्दै इटहरी उपमहानगरले बजार अनुगमन गर्दै आएको छ ।
बजारमा अत्यधिक विषादी प्रयोग गरिएको फलफूल तथा तरकारीहरू आउन थालेको भन्दै स्वास्थ्यकर्मीहरुले सजगता अपनाउन आग्रह गरेका छन् ।
विशेषज्ञहरूको अनुसार यस्तो रासायनिक पदार्थको दीर्घकालीन सेवनले क्यान्सर जस्ता घातक रोग लाग्न सक्ने खतरा रहन्छ।
स्थानीय तहले उपभोक्तालाई जथाभाबी बजारमा पाइने आँप नकिन्न र अत्यधिक चम्किलो वा छिटो पाकेका आँपबाट सावधान रहन आग्रह गरेको छ।
प्रतिक्रिया