सप्तरी : सप्तरीको सुरुङ्गा नगरपालिका–८ मलहन्वामा डाँका समूहले लुटपाटको प्रतिकार गर्ने क्रममा गोली हानी एक व्यक्तिको हत्या गरेका छन्।
शुक्रबार राति करिब १ बजे कन्तलाल चौधरीलाइ आफ्नै घरमा गोली प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए।
चारदेखि पाँच जनाको संख्यामा रहेको डाँका समूहले चौधरीको घरबाट ५ तोला सुन, २ केजी चाँदी र ६० हजार रुपैयाँ नगद लुटेर लगेका थिए।
लुटपाटको क्रममा प्रतिकार गरेपछि उनीमाथि पहिला धारिलो हतियार प्रहार गरिएको थियो भने पछि एक राउन्ड गोली प्रहार गरिएको प्रहरीले जनाएको छ। घटनास्थलमै चौधरीको मृत्यु भएको थियो।
उक्त घटनामा छिमेकी ४० वर्षीय रामाकान्त चौधरी पनि घाइते भएका छन्। उनलाई धारिलो हतियारले आक्रमण गरिएको थियो र हाल उनी विराटनगरस्थित प्रादेशिक अस्पतालमा उपचाररत छन्।
प्रहरीले घटनास्थलबाट नचलेको तीन राउन्ड गोली र एक राउन्ड गोलीको खोका बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया