अनेरास्ववियुको अध्यक्षमा डा. कडरियाको दाबी

शनिबार, २४ जेठ २०८२

काठमाडौं : एमालेनिकट अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन) को आसन्न २४ औं महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष पदका लागि डा. सुजन कडरियाले दाबी प्रस्तुत गरेका छन्। हाल अनेरास्ववियु संगठनका सचिव रहेका कडरियाले संगठनभित्रको सक्रियता, सेवा क्षेत्रको अनुभव र विगतका योगदानलाई आधार मानेर आफू नेतृत्वको लागि योग्य उम्मेदवार रहेको दाबी गरेका हुन्।

२५ जेठमा हुने महाधिवेशनका लागि तयारी तीव्र भइरहेका बेला कडरियाले आफू फरक पृष्ठभूमिबाट आएका कारण नेतृत्वमा विविधता र कार्यदक्षता थपिने विश्वास व्यक्त गरेका छन्। “म राजनीतिक संगठनभित्र मात्रै होइन, चिकित्साशास्त्र जस्तो सेवा मूलक क्षेत्रमा पनि सक्रिय छु,” कडरियाले भने, “गाउँगाउँ पुगेर उपचार सेवा दिनेदेखि आपतविपतमा अग्रपंक्तिमा काम गरेको छु। अब संगठन नेतृत्व गरेर युवाहरूलाई व्यावसायिक चेतना र सामाजिक जिम्मेवारीको मार्गमा अघि बढाउने चाहना राखेको छु।”

२०७३ सालमा नवीना लामा अध्यक्ष हुँदा उनी काठमाडाैं विश्वविद्यालयमा अनेरास्ववियु अन्तर्गत विद्यार्थी कल्याण परिषद्को संस्थापक अध्यक्ष थिए। त्यही समयदेखि संगठनमा निरन्तर लागिपरेका कडरियाले चिकित्सा शिक्षा क्षेत्रको विकृतिविरुद्ध समेत आवाज उठाउँदै आएका छन्। उनी नेसनल मेडिकल स्टुडेन्ट्स एसोसिएसनका संस्थापक अध्यक्षसमेत हुन्।

२०७२ को महाभूकम्पका बेला सिन्धुपाल्चोकमा स्वयंसेवक बनेर उपचार सेवा पुर्‍याएका कडरिया कोरोना महामारीका दिनहरूमा पनि धुलिखेल अस्पतालमा लगातार सेवा दिने चिकित्सकमध्ये एक थिए। रामेछापमा २७ सयभन्दा बढी बिरामीको उपचार गर्नुका साथै जाजरकोट भूकम्पको बेला एक महिनासम्म प्रभावित क्षेत्रमा खटिएर सेवा दिएका थिए।

संगठनभित्र चिकित्सा क्षेत्रबाट आएका थोरै नेताहरूमा पर्दै आएका कडरियाले अनेरास्ववियुलाई स्वास्थ्य सचेतना, सामाजिक सेवा र नीतिगत हस्तक्षेपमार्फत व्यापक बनाउन सकिने विश्वास व्यक्त गरेका छन्। “संगठनले मलाई टिकट दिनेमा म आशावादी छु,” उनले भने, “मैले संगठनमा वफादारिता देखाएको छु, अब नेतृत्वमा आएर अझ जिम्मेवार ढंगले काम गर्नेछु।”

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार