खोटाङ : किरातकालीन प्रथम राजा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको प्रतिमासहितको यलम्बर पार्क खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माण सम्पन्न भएको छ। यो पार्क कोशी प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा करिब १४ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो।
३० रोपनी सरकारी जग्गामा फैलिएको पार्कमा ‘फाइबर’ प्रविधि प्रयोग गरिएको यलम्बरको विशाल प्रतिमा राखिएको छ। परियोजनाको ७० प्रतिशत खर्च कोशी प्रदेश सरकारले र ३० प्रतिशत नगरपालिकाले व्यहोरेका छन्।
उमा–तुवाचुङ–अनसुवी जेभी निर्माण कम्पनीले ठेक्का पाएको उक्त पार्कमा घुमफिर गर्ने ठाउँ, विश्रामका कुर्सी, निःशुल्क वाइफाइ, कफी तथा फास्टफुड सेवा लगायतको सुविधा रहेको वडाध्यक्ष दिनेश राईले जानकारी दिए ।
नगरपालिकाका उपप्रमुख विशन राईका अनुसार किरात समुदायको इतिहास जगेर्नासँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको यो पार्क हालसम्मको यलम्बर प्रतिमामध्ये विश्वमै अग्लो भएको दाबी गरिएको छ। पार्कबाट हुने आम्दानीको ६० प्रतिशत नगरपालिकालाई र ४० प्रतिशत प्रदेश सरकारलाई जानेसम्बन्धी सहमति भएको छ।
यद्यपि, पार्क निर्माण सम्पन्न भइसकेको एक महिना बितिसक्दा पनि उद्घाटन हुन सकेको छैन। ठेकेदार कम्पनीका प्रबन्धक सुनिल राईका अनुसार नगरपालिकाले करिब तीन करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ। यही जेठ १७ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा उद्घाटन गर्ने तयारी भए पनि बजेट नपुग्दा कार्यक्रम रोकिएको छ।
नगरप्रमुख तीर्थराज भट्टराईले प्रदेश सरकारबाट झन्डै ३ करोड ९० लाख रुपैयाँ नआएकाले ठेकेदारलाई भुक्तानी दिन नसकिएको स्पष्ट पारे । उनले चालू आर्थिक वर्षमा बजेट आउने सम्भावना न्यून रहेको भन्दै, बजेट प्राप्त भएलगत्तै भुक्तानी गरेर पार्क सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया