विराटनगर : कोशी राजमार्गअन्तर्गत विराटनगर–३ स्थित तिरुपति पेट्रोल पम्प नजिकै आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृतक विराटनगर–५ निवासी ४२ वर्षीय नवीन खनाल हुन्, जो मुनलाइट फोटो स्टुडियोका सञ्चालक तथा लाइन्स क्लब अफ विराटनगर गुराँसका सदस्य थिए।
प्रहरीका अनुसार दूध फारमबाट कञ्चनबारीतर्फ जाँदै गरेको को ३४ प २४३४ नम्बरको मोटरसाइकल र कञ्चनबारीतर्फ नै जाँदै गरेको प्रदेश १–०२–०४४ प ९५७२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो। राति ८ः४० बजेतिर भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका खनालको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार दिउँसो ४ बजे मृत्यु भएको हो।
घटनामा अर्को मोटरसाइकलको पछाडि सवार भारत झारखण्डकी २९ वर्षीया सपना दास पनि घाइते भएकी छन्। हाल उनी विराटनगर–६ रामपुरस्थित माइतीमा बस्दै आएकी छन्। उनको नोबेल अस्पतालमै उपचार भइरहेको छ र अवस्था सामान्य रहेको जनाइएको छ।
दुर्घटनापछि प्रहरीले २४३४ नम्बरको मोटरसाइकल चालक भारत झारखण्डका ३४ वर्षीय राकेश रञ्जनलाललाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गति नै दुर्घटनाको कारण भएको मोरङ प्रहरीले जनाएको छ।
प्रतिक्रिया