वर्षा लागेपछि वाग्मती किनारका बासिन्दाको त्रास : बाढीको वेगसँगै बग्ने सपनाहरू

मंगलबार, २७ जेठ २०८२
फाइल तस्बिर

बरहथवा(सर्लाही) : वर्षा लागेपछि सर्लाहीको वाग्मती किनारवर्ती बासिन्दाका लागि निद्रा विलास होइन, त्रासको कथा बन्छ। चुरे पहाडबाट बग्दै आएको वाग्मती नदी वर्षा सुरु हुने बित्तिकै आफ्नो पुरानो क्रूरता बोकेर बस्ती र खेतमा पस्ने गर्छ। त्यसैले यहाँ वर्षा भनेको पानीको उत्सव होइन,उखेलिएको घर, बगाएको अन्न र विस्थापित सपनाको सम्झना हो।

६५ वर्षीय रामसेवक महतो, बसवरिया गाउँपालिका–२ मानपुरका बासिन्दा, अहिले पनि आकाश गर्जँदा पशु चौपाया खुलाएर उकाली लाग्ने तयारीमा हुन्छन्। उहाँले भन्नुभयो,'रातभर निन्द्रा लाग्दैन। खोलाले कहिले गाउँ पस्यो भनेर थाहा नपाइन्छ। गत वर्ष त खोलाले ड्यामै फुटायो, ज्यान जोगाएर भाग्नु परेको थियो।'

उहाँ जस्ता सयौँ स्थानीयको जीवन बर्खाको आगमनसँगै अस्थायी बन्ने गर्छ। रामनगर–१ का वडाध्यक्ष दिनेश यादव सम्झनुहुन्छ; पानी गाउँ पस्दा कसरी मानिसहरू घरै छाडेर बिचल्लीमा परे। त्यही टोलका विश्वनाथ मुखिया भन्नुहुन्छ, “बाढीले फुसको छानो उडायो, खरको भित्तो बगायो। हामी सात दिनसम्म डुबानमा थियौँ।” विस्थापनको पीडा त अझै हराएको छैन, अझ चिन्ता,“यो वर्ष पनि उस्तै भए के गर्ने?”

वाग्मती चुरे काखबाट बग्दै बग्दै जब दक्षिणतर्फ जान्छ, त्यसको रूप बद्लिन्छ। बिस्तारै फैलिँदै भारत प्रवेश गर्दा वाग्मतीको पाटी तीन किलोमिटरभन्दा फराकिलो हुन्छ। बलरा–१ का हरिशरण कापरले विगत सम्झँदै भन्नुभयो, “खेतीपाती बगायो, खाने अन्नसम्म बाँकी रहेन। बर्सेनि सास्ती, सरकारको तयारी कागजमै सीमित।”

विपद् व्यवस्थापनमा राज्यको भूमिका सधैँ पछाडि परेको महसुस यहाँका जनतामा स्पष्ट छ। रोकथामभन्दा राहतमा केन्द्रित योजना, समयमै बाँध मर्मत र जोखिम मूल्याङ्कन नगरेका कारण बर्सेनि पीडाले घेरिन्छन् उनीहरू।

तर, यसपालि केही आशाका सङ्केत पनि देखिएका छन्। बलरा नगरपालिकाका प्रमुख रामाशंकरप्रसाद कुशवाहले सशस्त्र प्रहरी र स्थानीय युवासँग समन्वय गरी विपद् व्यवस्थापन तालिम सञ्चालन गरिएको बताए। “डुबान, बाढी, आगलागीमा तत्काल सहायता पुगोस् भनेर उद्धार स्वयंसेवक तयार पारिरहेका छौँ,” उहाँले भन्नुभयो, “युवाहरूलाई आत्मरक्षा र जनधन सुरक्षा उपाय सिकाएका छौँ।”

यद्यपि, यो पनि स्पष्ट छ कि तालीम मात्रले बाढीको बहाव रोक्दैन। गत वर्ष असारमा आएको बाढीले बलरा, रामनगर, धन्कौल, बसवरिया लगायतका अधिकांश वडालाई प्रभावित पारेको थियो। विद्यालयहरू हप्तौँ बन्द भए, खानेपानीको समस्या भयावह बन्यो।

स्थानीय सञ्चारकर्मी जितेश यादवको भनाइमा, “नेपालतर्फबाट बग्ने वाग्मतीलाई भारतले आफ्नो सीमामा नियन्त्रण गरेपछि पानी नेपालमै फर्कने गर्छ। सीमा क्षेत्रमा बनेको एसएसबी रोड र ड्यामका कारण चुरेबाट बग्ने खहरे समेत नेपाली भूभागमै अवरुद्ध छन्।”

वर्षा बर्सँदा बग्ने पानीभन्दा बग्ने जीवन बढी हो, यहाँ वाग्मती किनारका बासिन्दाका लागि। जब शासन चुप लाग्छ, प्रकृति आफ्नो स्वरमा बोल्छ,अन्धाधुन्ध बगाउँदै, बिचल्ली पार्दै। तर यदि समयमै सुनुवाइ भयो, यदि बाढी आउनुभन्दा पहिला रोकिने बाँध बने—शान्त वाग्मतीको सपना देख्न सक्ने छन् यी बासिन्दा।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार