मोबाइल लुटेर फिरौती मागियो, विराटनगरबाट ३ जना पक्राउ

बुधबार, २८ जेठ २०८२

विराटनगर । भारतीय नागरिकसँगको मिलेमतोमा मोबाइल लुटेर अभिभावकसँग फिरौती रकम मागेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगरबाट ३ जनालाई पक्राउ गरेको छ । 

विराटनगर महानगरपालिका–१६ का १९ वर्षीय प्रलवकुमार विक, दीपक अधिकारी र २३ वर्षीय मुकेश सरदार पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न भारतीय नागरिक २२ वर्षीय गोलु सिंह भने फरार रहेकाले खोजी भइरहेको छ । गोलु जोगवनीका लागुऔषध कारोबारी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 


प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१७ फोकल्याण्ड टापुका प्रज्ञान राई र इटहरी उपमहानगरपालिका–१९ तरहराका आशिष गुरुङ विराटनगरको ट्राफिक चोकनजिकको टोम एन्ड जेरी होटलमा काम गर्दै आएका थिए । उनीहरुलाई २–३ दिनअघि साथीहरुले भारतको जोगवनी पुर्याए । 

जोगवनी पुर्याएर प्रज्ञानको साथमा भएको मोबाइल लुटपाट गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगूले बताए । मोबाइल लुटपाट गरेर आक्रमण गर्न खोजेपछि उनीहरु भागेर नेपाल आएका थिए । डीएसपी जबेगूका अनुसार लुटपाट गरेकै मोबाइलबाट फोन गरेर प्रज्ञानका अभिभावकसँग फिरौतीबाट ३० हजार रूपैयाँ माग गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । 

‘छोरा चाहिन्छ भने ३० हजार पैसा लिएर विराटनगरको बिग होटल छेउमा आउनु’ भनेर फोन गएपछि प्रज्ञानका बुवा खेमप्रताप राईले मंगलबार बिहान इलाका प्रहरी कार्यालय धरानमा खबर गरेका थिए । त्यसलगत्तै मोबाइल लुटपाट गरेर फिरौती माग्नेको खोजीका लागि धरानबाट इन्स्पेक्टर जीवन कुँवर नेतृत्वको टोली विराटनगर आइपुगेको थियो । 

धरानबाट खटिएको टोलीले मोरङ प्रहरीसँग समन्वय गरेर मोबाइल लुटपाट र फिरौती रकम मागेको घटनामा संलग्नलाई पक्राउ गरेको हो । धरानका डीएसपी जबेगूका अनुसार सुरुमा विराटनगर बसपार्कबाट प्रलव र दीपक पक्राउ परेका थिए ।
सोधपुछ गर्न थालेपछि उनीहरुले दिएको सूचनाका आधारमा मुकेश पक्राउ परेको उनले बताए । तर, उनीहरुले भारत जोगवनीका गोलु सिंहले फिरौती रकम लिन पठाएको बयान प्रहरीलाई दिएका छन् । 

सिंह फरार रहेकाले खोजी भइरहेको जानकारी डीएसपी जबेगूले दिए । उनका अनुसार पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको छ । 

रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको हो । तत्कालका लागि प्रहरीले उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ । अनुसन्धानबाट थप कुरा खुलेमा कारबाहीको बाँकी प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ । 

डीएसपी जबेगूका अनुसार घटनामा पीडित भनिएका प्रज्ञान र आशिषसहित विराटनगर–१५ की २० वर्षीय विजेता तामाङलाई इटहरी–१९ तरहराबाट सकुशल उद्धार गरिएको गरिएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानले आवश्यक परेका बेला उपस्थित हुने सर्तमा मंगलबार साँझ अभिभावकको जिम्मा लगाएर पठाइएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पीडित र पीडक साथी–साथी हुन् । ‘सुरुमा उनीहरु सल्लाहमै जोगवनी पुगेको देखिन्छ । उनीहरु किन जोगवनी पुगेका थिए भनेर अनुसन्धान भइरहेको छ । तर, त्यहाँ पुगेपछि साथमा भएको मोबाइल लुटपाट गरेर आक्रमण गर्न खोजिएपछि प्रज्ञान र आशिष भागेर नेपालतिर आएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ,’ जबेगूले भने । 

उनका अनुसार पछि प्रज्ञानकै मोबाइलबाट फोन गरेर अभिभावकसँग फिरौती रकम माग गरिएको पाइएको छ । तत्काल प्रहरी परिचालन गरेर फिरौती माग्नेहरुलाई पक्राउ गरियो र पीडित भनिएकालाई उद्धार गरिएको जानकारी डीएसपी जबेगूले दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार