काठमाडौं। संसदको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकबीच छलफल भइरहेको छ।
छलफलमा सत्तारुढ दलका मुख्यसचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलगायत छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आइरहेका छन्। प्रतिनिधिसभाको बैठक यही जेठ १३ गतेदेखि बस्न सकेको छैन। यसअघि दैनिक बैठक बोलाइए पनि अवरोधका कारण चल्न सकेको छैन।
विपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानविन गर्न समिति गठन हुनुपर्ने सदनमा अवरोध गरिरहेका छन्। वैशाख १५ मा बजेट पेस गर्न दिएका प्रतिपक्षीले त्यसयताका कुनै पनि बैठक सञ्चालन गर्न दिएका छैनन्।
आइतबारको बैठकमा सभामुखले दलीय आधारमा बोल्न दिने प्रस्ताव गरेका थिए। तर, विपक्षीले उक्त प्रस्ताव अस्वीकार गरे र विरोध जारी राखे। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन प्रमुख सचेतकहरूसँग छलफल गरे पनि परिणाम आउन सकेको छैन।
आइतबारसम्म आइपुग्दा माओवादी र रास्वपा कांग्रेसको प्रस्तावअनुसार मध्यमार्गी प्रस्तावमा अगाडि बढ्न लचक भएपछि कांग्रेस नेताहरू एमालेसँगको छलफलमा जुटेका छन्। यद्यपि, सहमति जुट्न भने सकेन।
यसैबीच विपक्षी दलले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनको सुनिश्चितता नभएसम्म सदन चल्न नदिने निष्कर्ष निकालेको छ। सँगै रास्वपाले अघि सारेको ५ बुँदे प्रस्तावमा माओवादीलगायतका विपक्षी दलले साथ दिएका छन्।
सदन बस्नुअघि रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन बसेको बैठकले आफ्नो माग यथावत् रहेको निष्कर्ष निकालेको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए। उनले आफूहरूले छानबिन समितिको माग राखेकोबारे अहिले विभिन्न चरणमा छलफल चलिरहेको बताए।
प्रतिक्रिया