सपना देख्ने मात्रै होइन, पूरा गर्ने यात्रामा सुदीप

शुक्रबार, ०२ साउन २०८२

काठमाडौँ : हरेक समयमा कोही यस्ता पात्र जन्मिन्छन्, जो केवल आफ्नो लागि होइन, समाजको लागि बाँच्ने सोच लिएर अघि बढ्छन् । उनीहरूको व्यक्तित्व, विचार र कार्यशैलीले समयको धार बदल्ने हिम्मत गर्छ । यस्तै उदाहरणीय नाम हो सुदीप घिमिरे ।

युवा नेतृत्व, नवप्रवर्तन, सामाजिक रूपान्तरण र उद्यमशीलताको प्रतीक बनेका घिमिरे आज देशका सम्भावनाशील र दूरदर्शी युवामध्ये एकका रूपमा स्थापित भएका छन् ।

सुदीपको यात्राको सुरुवात केवल किताबी ज्ञानमा सीमित थिएन । विविए अध्ययनकै क्रममा उनले व्यवहारिक जीवनका चुनौतीहरूलाई आत्मसात् गर्दै सामाजिक र व्यावसायिक क्षेत्रमा आफूलाई सक्रिय बनाए । उनी नेपाल युवा उद्यम मञ्च सुनसरीका संस्थापक अध्यक्ष हुन्, जहाँ उनले चार कार्यकालसम्म केन्द्रीय सदस्यको भूमिका निर्वाह गर्दै युवालाई उद्यमशीलता, नेतृत्व र सामाजिक उत्तरदायित्वतर्फ उन्मुख गराएका छन् । 

उनले NYEF, EO Nepal, Rotaract Club, World LP Gas Association लगायत विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सञ्जालमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। नेपालमा एलपी ग्यास सुरक्षाबारे चेतना फैलाउने अभियानदेखि लिएर वातावरणीय नीति निर्माणसम्म उनका सक्रियता देखिन्छ।

व्यावसायिक क्षेत्रमा सुदीपको परिचय विविध रूपमा देखिन्छ । उद्योग वाणिज्य सङ्घ इटहरीको सदस्य रहँदा उनी भवन निर्माण समितिको संयोजकका रूपमा सङ्घको पूर्वाधार विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे । साथै, संवृद्धि फाइनान्स लिमिटेडको बोर्ड सदस्यको हैसियतमा समेत आर्थिक पारदर्शिता र संस्थागत सुदृढीकरणमा उल्लेखनीय योगदान दिए ।

यस्तै घिमिरे "SGO" Group का सस्थापक समेत हुन । यो संस्था सामाजिक नवप्रवर्तनमा आधारित रहेर शिक्षा, स्वास्थ्य, वातावरण तथा युवाको क्षमता अभिवृद्धिमा कार्यरत छ। "Leading Change through Innovation" भन्ने नाराका साथ अगाडि बढेको यो संस्थाले हालसम्म करिब आठ हजार बढि जनशक्तिलाई प्रत्यक्ष रूपमा समेटेको दाबी गरिएको छ।

सफलताको सिखरमा उचाई हाँसिल गरेका आज उनी चार वटा हाइड्रोपावर परियोजनामा प्रमुख लगानीकर्ता छन् । जसले स्वच्छ ऊर्जा प्रवद्र्धनमार्फत दिगो विकासलाई गति दिएको छ । उनको नेतृत्वमा सञ्चालित दर्जनभन्दा बढी कम्पनीहरूले रोजगारी सिर्जनासँगै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेका छन् । 

सामाजिक व्यवहारमा उनी एक मृदुभाषी, मिलनसार र जिम्मेवार व्यक्तित्वका रूपमा चिनिन्छन् । सहकार्य, परामर्श र समावेशी नेतृत्व सुदीपको पहिचान हो । प्रारम्भिक दिनहरूमा स्थानीय साना समूहहरूबाट नेतृत्व सुरु गरेका उनले आज दर्जनौँ सङ्घ–संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ।

परियोजना व्यवस्थापनदेखि सार्वजनिक स्वास्थ्य अभियान, नीति संवाद, युवा मैत्री कार्यक्रमहरूमा उनले सशक्त उपस्थिति जनाउँदै आएका छन् । उनी सामाजिक अभियन्ता, नीति विश्लेषक र प्रेरक वक्ताको रूपमा पनि परिचित छन् । उनको योगदानले हजारौँ युवामा नेतृत्व विकास, उद्यमशीलता र सामाजिक उत्तरदायित्वप्रतिको चेतनालाई जगाएको अवस्था रहेको छ । 

सुदीप  सफल व्यवसायी शिव घिमिरेका जेठा छोरा हुन् । पारिवारिक मूल्य र परम्परालाई आत्मसात् गर्दै उनले व्यवसायलाई सामाजिक उत्तरदायित्वसँग जोडेर अघि बढाएका छन् । उनको सोच छ– “गुनासो होइन, योगदान देऊ ।” यही सोचका साथ उनी सेवामूलक कार्यमा समर्पित छन् ।

रवीभवन, काठमाडौँका स्थायी बासिन्दा घिमिरे सुदूर पश्चिमदेखि सुदूर पूर्वसम्म विभिन्न सामाजिक परियोजनामा सक्रिय भइसकेका छन्। बुवाको व्यावसायिक विरासतलाई सम्मानपूर्वक काँधमा उठाएका उनले आफूलाई एक सक्षम र सफल युवाको रूपमा स्थापित गरिसकेका छन्। त्यससँगै, उनी उद्यमशीलताको यात्रामा पनि अग्रसर छन्, जहाँ उनी एक सफल उद्यमी बन्ने दौडमा प्रेरणादायी ढङ्गले अगाडि बढिरहेका छन्।

उनले समय–समयमा आयोजना हुने उच्चस्तरीय मञ्चहरूः-जस्तै नीति संवाद, नवप्रवर्तन सम्मेलन, युवा सम्मेलनमा सक्रिय सहभागिता जनाउँदै आएका छन् ।

घिमिरेको प्रस्तुति अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत सुनिएको छ। World LP Gas Association तथा विभिन्न नवप्रवर्तन सम्मेलनहरूमा उनले नेपालको प्रतिनिधित्व गर्दै ‘Good Industry Practice’ जस्ता दृष्टान्त प्रस्तुत गरेका छन्।

यी मञ्चहरूमा प्रस्तुत उनका विचारहरूले उनलाई राष्ट्रिय नेतृत्वको सम्भावित अनुहारका रूपमा स्थापित गरेका छन् ।

उनले प्राप्त गरेका पुरस्कार र सम्मानहरू केवल व्यक्तिगत उपलब्धिको प्रतीक होइनन्, देशका युवामा रहेको क्षमता र प्रतिबद्धताको प्रमाण पनि हुन् । उनी नेपालमै सीमित नरही अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूसँग सहकार्य गर्दै परियोजना व्यवस्थापन, नीति निर्माण र नेतृत्व विकासमा समर्पित छन् ।

उनले सञ्चालन गरेका युवा लक्षित तालिम, कार्यशाला र उद्यमशीलता प्रवद्र्धन कार्यक्रमहरूले देशभरि युवामा चेतना फैलाएको छ । सुदीपको कार्यशैली व्यवहारिक सोचमा आधारित छ । उनी युवालाई देश विकासको मेरुदण्ड ठान्छन् र नीति निर्माणदेखि कार्यान्वयनसम्म जिम्मेवार नेतृत्वको अभ्यासमा विश्वास राख्छन् ।

सुदीप घिमिरे आज केवल एउटा नाम होइन, एक अभियान बनेका छन् । समाज रूपान्तरण, ऊर्जा प्रवद्र्धन, उद्यमशीलता विस्तार र नीतिगत संवादमा उनी क्रियाशील छन् । युवा पुस्ताको सपना, सङ्घर्ष र सम्भावनाको प्रतिनिधित्व गर्दै उनी भन्छन्,‘सपना त्यो हो जुन केवल आँखा खोल्दा होइन, आँखा चिम्लिँदा पनि देखिन्छ– त्यो सपना हो देश बदल्ने ।’

उनको यो सोच र सङ्कल्पले आज नेपालका हजारौँ युवालाई नयाँ सोच, नयाँ दिशा र नयाँ प्रेरणा दिइरहेको छ । सामाजिक सेवा र पेसागत सफलताको सन्तुलन कायम राख्दै, घिमिरेले हामीलाई सिकाएका छन्, परिवर्तन चाहिन्छ भने पहिला आफैँबाट सुरु गर्नुपर्छ ।

नेपालजस्तो देशमा, जहाँ युवा जनसंख्या विशाल छ, त्यही युवालाई सही दिशा दिने सुदीपजस्ता नेतृत्वकर्ताको उपस्थिति समयको माग हो । यदि यिनै अभियन्ताहरूको अभियानलाई संस्थागत समर्थन र राष्ट्रिय पहिचान दिन सकियो भने, समावेशी विकास र दिगो परिवर्तनको सपना केवल सपना होइन, वास्तविकता बन्न सक्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार