इटहरी : जेन जी पुस्ताले थालेको जनआन्दोलनका कारण प्रदर्शनकारीले इटहरी क्षेत्रमा आगजनी र तोडफोड गरेका कतिपय कार्यालयमा सरसफाई गर्ने क्रम बढेकाले गर्दा बिना मुचुल्का सरसफाई गर्न नमिल्ने प्रहरीले जनाएको छ ।
विशेषगरी मङ्गलवार अपराह्न इटहरीको इलाका प्रहरी कार्यालयसँगै थुप्रै सरकारी कार्यालय तथा व्यक्तिगत घरमा आगजनीसँगै तोडफोड भएको थियो ।
त्यसपछि कतिपय व्यक्ति र समूहले सरसफाइ अभियान चलाएर सामाजिक सञ्जालमा पोष्ट गरेसँगै त्यसबारे विभिन्न खाले प्रतिक्रिया आएपछि प्रहरीले बिना मुचुल्का सफाइ गर्न नमिल्ने जनाएको हो ।
सफाइ गर्ने क्रममा शनिवार एउटा समूहले नियमनकारी निकायसँग बिना सल्लाह प्रदेशस्तरीय ट्राफिक प्रहरी कार्यालयको सरसफाई गरियो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभर भएका आगजनी र तोडफोडको प्रहरीले मुचुल्का तयार गरी रहेको जनायो ।
यसले स्वतःस्फूर्त रूपमा अहिलेसम्म सरसफाई भएको जानकारी नआएको जनाएको छ । तर इटहरी क्षेत्रका कतिपय स्थानमा भने बुधवारदेखि नै सरसफाई भइरहेको छ ।
इटहरी क्षेत्रमा इलाका प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय पकली आगजनी भएको थियो । इटहरीकै हलगडामा रहेको प्रहरी चौकी पनि आगजनी भएको थियो ।
यस्तै, इटहरीका मेयर हेमकर्ण पौडेलको घरमा पनि आगजनी गरी पूर्ण रूपमा ध्वस्त भएको थियो । इटहरी उपमहानगरपालिकाको भौतिक संरचना र सवारी साधन आगजनी गरिएको थियो ।
इटहरी वडा नं. ६ मै रहेको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको घरमा तोडफोड भएको थियो ।
इटहरी क्षेत्रमै रहेको कोशी प्रदेशस्तरीय ट्राफिक प्रहरी कार्यालय, राजस्व कार्यालय, कर कार्यालय, यातायातको सेवा तथा लाइसेन्स कार्यालय आगजनी भएको थियो ।
यस्तै,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पनि आगजनी गरिएको थियो । इटहरीमा नेपाली काँग्रेस र एमालेको पार्टी कार्यालय पनि आगजनी तथा तोडफोड गरिएको थियो ।
प्रतिक्रिया