‘फिफा कनेक्ट’ प्रणाली कार्यान्वयन नगर्ने क्लब निलम्बनको दायरामा पर्न सक्ने अध्यक्ष राईको चेतावनी

शनिबार, ३१ जेठ २०८२

धरान : नेपाली फुटबललाई व्यावसायिक, पारदर्शी र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने उद्देश्यसहित ‘फिफा कनेक्ट’ प्रणाली लागू गर्ने कार्य तीव्र रूपमा अगाडि बढाइरहँदा कोशी प्रदेश फुटबल सङ्घले क्लबहरूलाई कडा चेतावनी दिएको छ।

कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का मानार्थ उपाध्यक्ष किशोर राईले ‘फिफा कनेक्ट’ प्रणाली कार्यान्वयन नगर्ने क्लबहरूलाई कुनै पनि प्रतियोगितामा सहभागी हुन नदिने स्पष्ट सङ्केत दिएका छन्।

सुनसरी जिल्ला फुटबल सङ्घद्वारा आयोजित ‘फिफा कनेक्ट एण्ड स्पोर्ट्स इञ्जुरी काउन्सेलिङ’ अनुशिक्षण कार्यक्रममा बोल्दै राईले भने, “वर्षभरि एउटै प्रतियोगितामा समेत सहभागी हुन नसक्ने क्लबले दीर्घकालीन योगदान गर्न सक्दैन। त्यसैले अबदेखि ‘फिफा कनेक्ट’ प्रणाली नअपनाउने क्लब प्रतियोगिताबाट स्वतः बाहिरिन्छन्।”

WhatsApp Image 2025-06-14 at 17.00.25

उनका अनुसार हालसम्म धेरैजसो क्लबले आफ्नो खेलाडीको विवरण सम्बन्धित जिल्ला सङ्घमा दर्ता गराएका छैनन्। त्यसैले “एक खेलाडी, एक क्लब”को अवधारणालाई कार्यान्वयन गर्न एन्फाले देशैभर ‘फिफा कनेक्ट’ प्रणाली अनिवार्य रूपमा लागू गर्ने निर्णय गरेको हो।

राईका अनुसार,फिफा कनेक्ट प्रणालीमार्फत नेपाली फुटबललाई व्यावसायिक दिशातर्फ उन्मुख गरिँदै छ। “खेलाडीको व्यवस्थापनमा पारदर्शिता ल्याउनु, क्लबहरूलाई जिम्मेवार बनाउनु र जिल्ला सङ्घलाई संस्थागत बनाउनु यसको मुख्य लक्ष्य हो,” उनले बताए।

साथै, यस प्रणालीले खेलाडीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन मद्दत गर्ने उल्लेख गर्दै उनले थपे, “अब हाम्रो खेलाडीहरू पनि फिफाको नेटवर्कमा देखिनेछन्।”

कार्यक्रममा सुनसरी जिल्ला फुटबल सङ्घका अध्यक्ष नवीन राईले पनि यस प्रणालीले नेपाली क्लब र खेलाडीहरूको प्रत्यक्ष सम्पर्क विश्व फुटबल महासङ्घ (फिफा) सम्म पुर्‍याउने भएकाले यसलाई नयाँ अवसरका रूपमा लिनुपर्ने बताए। “अब क्लबहरूले केवल नामका लागि हैन, जिम्मेवारीपूर्वक अघि बढ्नुपर्छ,” उनले जोड दिए।

वरिष्ठ खेल पत्रकार हर्ष सुब्बाले स्कुल तहदेखि फुटबलमा रुचि राख्ने बालबालिकाको भविष्य सुनिश्चित गर्न ‘फिफा कनेक्ट’ प्रणाली महत्त्वपूर्ण कडी बन्ने धारणा राखे। “यो एन्फा एकेडेमी तथा जिल्ला स्तरीय क्लबहरूको लागि गौरवको विषय हो,” उनले भने।

कार्यक्रममा फिफा प्रशिक्षक राजकुमार श्रेष्ठले ‘फिफा कनेक्ट’ प्रणालीसम्बन्धी प्राविधिक पक्षबारे विस्तृत प्रशिक्षण दिइरहेका छन्। यस्तै स्पोर्ट्स इञ्जुरी काउन्सेलिङ सत्रमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभाग प्रमुख डा। विष्णु पोखरेलले फुटबल खेलमा हुने चोटपटक, आपत्कालीन उपचार विधि तथा सुरक्षाका उपायहरूबारे प्रशिक्षण दिँदै छन्।

यस अनुशिक्षण कार्यक्रममा सुनसरी जिल्लाका १० ए डिभिजन क्लब, ७ बी डिभिजन क्लबका पदाधिकारी, प्रशिक्षकहरू तथा एन्फा एकेडेमीका प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घाटन सत्रको सञ्चालन जिल्ला फुटबल सङ्घका महासचिव कोविदजंग कार्कीले गरेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार